गान्तोक, 20 नोभेम्बर (हि.स.)। नेपालको प्रतिष्ठित सामाजिक संगठन हेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले गत 22 अक्टोबरका दिन काठमाडौंमा पवन चामलिङलाई `पद्मश्री साधना सम्मान' र 26 अक्टोबरका दिन विश्व नेपाली साहित्य माहासंघको तेस्रो महाधिवेशनमा चामलिङलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिका बाहुलीबाट `विश्व शिखर साहित्य अभिनन्दन´ द्वारा सम्मानित गरेका थिए। यस्तो गौरवपूर्ण र सिक्किमेली समाजको मर्यादालाई विश्व जगतमा सम्मानित तुल्याउन सफल भएकामा एसडीएफ परिवारले आज पार्टी अध्यक्षलाई बधाई तथा सम्मान जनाउन बधाई ज्ञापन कार्यक्रमको आयोजना गऱ्यो।
बाइपासस्थित पार्टी मुख्यालयको प्रेक्षागृहमा भव्य रूपमा सम्पन्न ज्ञापन कार्यक्रममा चामलिङलाई समस्त सिक्किमेली जनताका पक्षबाट पार्टीले बधाई ज्ञापन पत्र, दोसल्ला एवम् पुष्पगुछासहित खदा-माला अर्पण गरिएको एसडीएफ पार्टीले विज्ञप्तिमा जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै चामलिङले साहित्यको महत्त्वलाई प्रकाश पारे। यसैक्रममा उनले साहित्य जनताको पक्षमा लेखिनुपर्ने कुरामा जोड दिए। सिक्किमका नवयुवाहरूलाई जनताका पक्षमा निडर भएर राजनीति गर्न उनले आग्रह गरे। सम्बोधनका क्रममा चामलिङले नवयुवाहरूको नेतृत्वमा एसडीएफ पार्टीले काम गर्ने कुरा बताउॅंदै आफू युवाहरूको साथमा रहेर सिक्किम र सिक्किमेली जनताका निम्ति निरन्तर राजनीतिमा सक्रिय रहने विचार साझा गरे।
सिक्किम अहिले राजनैतिक, आर्थिक, सामाजिक र सबै क्षेत्रमा लथालिङ्ग र भताभुङ्ग भइसकेको बताउँदै एसडीएफ पार्टी यी सबैबाट सिक्किमलाई समाल्न कटिबद्ध रहेको उनले जनाए।
हिन्दुस्थान समाचार / बिशाल