जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानद्वारा मङ्पु सर्कलको भ्रमण
जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानद्वारा मङ्पु सर्कलको भ्रमण


सोनादा, 20 नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान तथा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागका कार्यकारी सभासद राजेश चौहानले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभाग अन्तर्गत मङ्पु सर्कलको छड्के भ्रमण गरेका छन्। यस अन्तर्गत उनले मङ्पु क्षेत्रमा भएका विभिन्न पाठशालाहरूको भ्रमण गरेर उक्त पाठशालाहरूमा रहेका छात्र छात्राहरूको पढाई साथै विभिन्न क्रियाकलापहरूलाई लिएर पाठशालाका शिक्षक शिक्षिकाहरूमाझ अन्तरक्रिया गरेका छन्।

यसको साथै पाठशालाहरूमा रहेका विभिन्न समस्याहरूको विषयमा पनि कार्यकारी सभासद राजेश चौहानले चासो देखाए। राजेश चौहान प्राथमिक शिक्षा विभागका कार्यकारी सभासद भएदेखि नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गतका लगभग १३ वटा सर्कलहरूमा नै बेलाबखत् यस्तै छड्के भ्रमणहरू गर्ने गरेका छन्। पाठशालाहरूमा केवल पढाई मात्र नभएर पाठशालाहरूमा रहेका विभिन्न समस्याहरूलाई लिएर पनि उनले चासो दिइरहेका छन। विविध समस्या साथै कतिपय पाठशालाहरुमा शिक्षक शिक्षिकाहरूको हेलचेक्रैलाई पनि उनले गहन तरिकाले लिँदै आएका छन्।

अब आउने दिनहरूमा पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गतका प्राथमिक पाठशालाहरूमा छड्के भ्रमण गर्ने साथै छात्र छात्राहरूको पढाइ मात्र नभएर छात्र छात्रहरूमाझ विभिन्न किसिमका क्रियाकलापहरुमा पनि ध्यान दिने बताएका छन्, जसले समग्र विद्यार्थीहरूको उज्जवल भविष्यको गोरेटो निर्माण हुन सकोस्। साथै विभिन्न पाठशालाहरूमा शिक्षक शिक्षिका तथा पाठशालाका कर्मचारीहरूको विद्यार्थीहरूप्रतिको पढाई मात्र नभएर उनीहरूको चरित्र चित्रणमा पनि ध्यान दिन आवश्यक रहेको बताउँदै चौहानले पाठशाला केवल पढाइको लागि मात्र नभएर हाम्रै समाजका यी नानीहरूको भविष्य निर्माण गर्ने एउटा मन्दिर रहेको बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande