मेधावी कलेज अफ् फार्मेसी र बीएससी नर्सिङको उद्घाटन 
मेधावी कलेज अफ् फार्मेसी र बीएससी नर्सिङको उद्घाटन


गान्तोक, 04 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री कार्यालयका प्रधान सचिव एसडी ढकालले मेधावी कलेज अफ् फार्मेसी र मेधावी कलेज अफ् बीएससी नर्सिङको उद्घाटन गरेका छन्। मेधावी कौशल विश्वविद्यालयले आज राजधानीको चिन्तन भवनमा आयोजना गरेको एक कार्यक्रममा ढकालले उक्त महाविद्यालयहरू उद्घाटन गरेका हुन्।

कार्यक्रममा मेधावी कलेज अफ् बीएससी नर्सिङको प्रथम ब्याचका विद्यार्थीहरूले शपथ ग्रहण गर्दै आफ्नो शैक्षिक यात्राको शुरूवात गरे। विश्वविद्यालयले विभिन्न प्रतिष्ठित संगठनहरूसॅंग एमओयू पनि हस्ताक्षर गरेको छ, जसमा लजिकनट्स, क्लब महिन्द्र रिसोर्ट, ट्रान्सोर्ज इन्फरमेशन सल्युशन र ट्रिका इनर्जी रिसर्च प्रालि सामेल छन्।

मुख्य अतिथि ढकालले आफ्नो सम्बोधनमा द्रुत प्राविधिक प्रगतिको समयमा भावी पीढीको भविष्यलाई आकार दिन कौशल विकासको महत्त्वपूर्ण भूमिकामाथि बल दिए। उनले भारतको कृषि र बागवानी क्षेत्रहरूमा वृद्धि गर्न यी सीपहरू प्रयोग गर्ने महत्त्वलाई जोड दिए। यसैगरी, उनले पारम्परिक कौशलहरू जस्तै बुनाई, काठ नक्काशी र कढाईलाई पनि विश्वविद्यालयको कार्यक्रममा सामेल गरेर यसको संरक्षण गर्नुपर्ने आवश्यकतामाथि बल दिए।

कार्यक्रममा मेधावी कौशल विश्वविद्यालयका सह संस्थापक एवं प्रो-चान्सलर कुल्दिप शर्माले स्वागत सम्बोधन राखेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande