बिजनबारी, 02 दिसम्बर (हि.स.)। बिजनबारी भेगको साहित्यिक संस्था प्रतिभा प्रेरणा परिषद्, पुल-बिजनबारी खण्डले द्वय वार्षिक रुपमा प्रदान गरिने प्रतिभा प्रेरणा पुरस्कार यस वर्ष साहित्यकार राममणि जोशीलाई प्रदान गर्ने भएको छ। परिषदको एक सभा बसेर पाचौं प्रतिभा प्रेरणा पुरस्कारको रूपमा जोशीलाई दिइने आधिकारिक घोषणा भएको हो।
परिषदका महासचिव सुजनहाङ सुब्बाद्वारा एक विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएका हुन् भने उक्त पुरस्कार आगामी २९ दिसम्बरमा एक कार्यक्रमको साथमा प्रदान गरिने जनाइएको छ। उक्त पुरस्कार परिषद्का पाँच सदस्यहरु रहेको जुरीले ग्राउण्ड सूचिबाट छानिएर गएका पाँचजना साहित्यिक व्यक्तित्वहरूमध्ये राममणि जोशीको नामलाई बहुमतद्वारा अन्तिम निर्णय लिएको बताइएको छ।
साहित्यकार राममणि जोशी दार्जिलिङे साहित्यिक फाँटमा एक चिरपरिचित हस्ति हुन् भने उनले अस्सीको दशकदेखि निरन्तर रूपमा नेपाली साहित्यको विभिन्न क्षेत्रमा कलम चलाईरहेका छन्। साहित्यकार जोशीको हालसम्म चारवटा काव्य कृतिहरू प्रकाशित भई सकेका छन्। जसमा विकल्पको खोजतिर २०००, समय श्रीखण्ड २०११, दुर्गा मल्ल र दलबहादुरलाई देश दुख्छ २०११, विपना वृत्तान्त २०१७ रहेका छन् भने जोशीले समसामयिक साहित्यिक पत्रिका 'युगाभाष' को प्रधान सम्पादकको रूपमा सन् २००६-२०१० सम्म सम्पादन गरिसकेका छन्।
यसका साथै उनको प्रकाशोन्मुख कृतिहरू लढ्दै उठेको आँगन कविता सङ्ग्रह र जिन्दगीको लेखापढी (गोर्खाल्याण्ड आन्दोलनताका नङमासु छुटेको परिवेश विशेष लेख सङ्ग्रह) प्रमुख रहेका छन्।
हिन्दुस्थान समाचार / हनोक