खरसाङ, 22 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका उपाध्यक्ष राजु लामाले अध्यक्षता गरेका थिए।
उक्त सांगठनिक सभालाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरुङले हामीले क्षेत्रीय पार्टी र क्षेत्रीय नेतालाई बचाउनु पर्छ भनी बताए। उनले हामी सबैजना पार्टीको नेतृत्वमा बसेपछि काम गर्नुपर्छ र पार्टीको लागि खट्नु पर्छ भनी सुझाउ राखे।
गुरुङले अनित थापा अहिले सम्पूर्ण पहाडको नेता रहेको बताउँदै सबैले अनित थापाको हात बलियो बनाउनु पर्ने र उनको साथमा बलियोसँग उभिनु पर्नेछ भने। उनले आफ्नो सम्बोधनमा हामीसित जीटीए छ, पञ्चायत समिति छ, पञ्चायत छ, नगरपालिका छ र हामी सबैजना एक साथ पार्टीको लागि अघि बढ्नुपर्छ भनी बताए।
सभालाई नारी शक्ति समष्टि सभापति निरा प्रधान, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा र सभाध्यक्ष राजु लामाले पनि सम्बोधन गरेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापा आगामी जनवरी महिनाको दोस्रो सातामा रुकुम तीनधारे महानदी समष्टिको भ्रमणमा आउने विषयमा तयारीलाई लिएर चर्चा परिचर्चा गरियो।
सभामा तीनधारे महानदी समष्टिको चारैवटा ग्राम पञ्चायतहरुका पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत समिति सदस्यहरु र पञ्चायत सदस्यहरु साथै तीनधारे महानदी समष्टिका पदाधिकारीहरु र विभिन्न भातृ संगठनहरुका पदाधिकारीहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक