तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: नर्थ बेंगल आर्म पुलिस क्वार्टर फाइनलमा प्रवेश 
तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: नर्थ बेंगल आर्म पुलिस क्वार्टर फाइनलमा प्रवेश


खरसाङ, 22 दिसम्बर (हि.स.)। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भइरहेको तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको दोस्रो खेल नर्थ बेंगल आर्म पुलिस र युनाइटेड सिविटारमाझ सम्पन्न भयो। यस खेलमा नर्थ बेंगल आर्म पुलिसले सिविटारलाई 3-2 को अन्तरले जितेर क्वार्टर फाईनलमा प्रवेश गरेको छ।

पहिलो हाफको 10औं मिनटमा नै सिविटारको तर्फबाट जर्सी नम्बर 11 कुनाल मोक्तानले गोल गरेर आफ्नो टीमलाई एक गोलको बढत दिलाएका थिए। यसको लगत्तै नर्थ बेंगल आर्म पुलिसको‌ तर्फबाट जर्सी नम्बर 10 सनातन कर्माकरले गोल गरेर खेल बराबरीमा ल्याए।‌ यसपछि, फेरि नर्थ बेंगल आर्म पुलिसको‌ तर्फबाट जर्सी नम्बर 17 रिञ्जी शेर्पा र जर्सी नम्बर 9 सुरेश उराव (बाबु) ले पहिलो हाफको खेलमा‌ नै लगातार रुपमा 3 गोल गरेर आफ्नो टीमलाई 3-1 गोलको बढत दिलाए।

दोस्रो हाफको अन्तिम समयमा सिविटारले एक गोल गरेपछि खेल निकै रोमाञ्चक बनेको थियो। तर, धेरै प्रयास गर्दा पनि खेल सिविटारका खेलाडीहरूले थप गोल गर्न नसक्दा नर्थ बेंगल आर्म पुलिस क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अब सोमवार केएफसी सिलगढी र ब्राइट एकाडेमीमाझ भिडन्त हुनेछ।‌

आजको खेलमा मुख्य अतिथिको रुपमा ग्यालेक्सी अस्पताल बाघडुग्राबाट जेसु दत्त उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा घैयाबारी दुई ग्राम पञ्चायत प्रधान भगवती प्रधान र तीनधारे पुलिस आउट पोष्टका बढाबाबु रमेश विश्वास उपस्थित थिइन्। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनका सचिव रञ्जित थापाले टुर्नामेन्टमा राम्रा राम्रा फुटबल टिमहरु आइरहेको र अब अझ खेल रोचक बन्दै गएको बताए। उनले यस टुर्नामेन्टको फाइनल खेल आगामी 12 जनवरीमा‌ हुने जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande