रंगबुल धोतरिया रंगबुक समष्टिमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा चुनाउ प्रचार
रंगबुल धोतरिया रंगबुक समष्टिमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा चुनाउ प्रचार


सोनादा, 19 अप्रेल (हि.स.)। गोरामुमो अध्यक्ष मन घिसिङद्वारा भाजपा प्रार्थी राजु विष्टलाई भारी मतले जिताउन आफ्नो चुनाउ प्रचार अभियानलाई जारी राख्दै शुक्रवार रंगबुल धोतरिया रंगबुक समष्टिमा चुनाउ प्रचार गरे। मन घिसिङले अप्पर कलेजभेल्ली, गोर्खा बस्ती, धोतरिया, बालासन, सोनादा नाली चाउर, पचेङ बजार, भुट्टाखेती, रंमबुक अनि मुण्डा चियाबारीमा राजु विष्टलाई भोट दिएर बिजयी बनाउन जनता समक्ष अपील गरे।

समष्टि अध्यक्ष सन्तोष सुब्बाले समष्टिमा अध्यक्ष मन घिसिङको चुनाउ प्रचार विषय लिएर जानकारी गराउॅंदै भने, यो भुभाग हाम्रो हो र हाम्रै भुभागलाई बंगाल सरकार अनि बंगाल सरकारका एजेन्टहरुले पाँच डेसिमल दिएर हामीलाई शरणार्थी बनाउने षड्यन्त्र गर्दैछ। यसकारण हामी हाम्रो भुभागलाई संवैधानिक सुरक्षा प्रदान गरी न्याय दिलाउनेलाई जिताउने छौं।

उनले अझ भने, प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरुको समस्याको समाधान तर्फ रहेको जनाएका छन्। यो कुरा कुनै खेलाइची होइन। भारतको प्रधानमन्त्रीले भने पछि हामीलाई न्याय दिन्छ भनेर बिश्वस्त छौं। राजु बिष्टलाई जिताउनु भनेको मुद्दा पार लगाउनु हो। हामीले चाहेको भनेको संवैधानिक र राजनैतिक समाधान हो, जसमा पहाडवासी सुरक्षित अनि खुशी साथ बाँच्न सकोस्।

गोरामुमोले झोडानालाको राजनीति गर्दैन, जाति र माटोको उन्मुक्तिको निम्ति निरन्तर कार्य गरिरहेको उनले बताए। अध्यक्ष मन घिसिङले दिल्लीमा मुद्दा फत्ते गराउन भारत सरकारसंग सहकार्य गरेर कार्य गरिरहेको पनि उनले दाबी गरे। उनले भने, अब हाम्रो आङमा पनि न्यानो घाम चॉंडै लाग्नेछ। यसकारण अब समस्त पहाड अनि तराईवासीले राजु विष्टलाई भारी मतले जिताएर दिल्ली पठाउनु पर्छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande