खरसाङ क्षेत्रमा चुनाउ शान्तिपूर्ण सम्पन्न
खरसाङ क्षेत्रमा चुनाउ शान्तिपूर्ण सम्पन्न


— भाजपा र भागोप्रमोद्वारा चुनाउ जित्ने दाबी

खरसाङ, 26 अप्रेल (हि.स.)। यसपालीको लोकसभा चुनाउमा मुख्य रूपमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसका प्रार्थी गोपाल लामा र भारतीय जनता पार्टीका प्रार्थी राजु विष्टमाझ प्रतिद्वान्दिता देखिएको छ। हुन त पहाड़मा त्रिकोणीय प्रतिद्वान्दिता रहने भनिए पनि पहाड़मा प्राय: तृणमूल र भाजपामाझ मुख्य रूपमा प्रतिद्वान्दिता देखियो। यी दुवै दलका पदाधिकारीहरूले चुनाउ जित्ने दाबी गरिरहेका छन्।

18औं लोकसभा चुनाउ अन्तर्गत खरसाङ क्षेत्रमा चुनाउ शान्तिपूर्ण सम्पन्न भएको छ। चुनाउमा विशेष गरेर भागोप्रमो समर्थित तृणमूल कंग्रेसका प्रार्थी गोपाल लामाको पक्षमा र भारतीय जनता पार्टीका प्रार्थी राजु विष्टको पक्षमा बुथहरूमा मानिसहरू बसेको देखियो। साँझ 5 बजीसम्मको अपडेट अनुसार खरसाङ क्षेत्रमा 65.2 प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ। खरसाङ क्षेत्रका सबै बुथहरूमा चुनाउ शान्तिपूर्ण रूपमा भएको छ।

खरसाङको 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको स्प्रिङ साइड चियाबारीको बुथमा साँझ 5 बजीसम्म पनि मानिसहरू मतदान गर्न लाइनमा उभिएको देखियो। यस बुथमा मतदानमा केही ढिलाई भएको कारणले गर्दा अतिरिक्त चुनाउ कर्मचारीहरू खटाइएको जानकारी प्राप्त भएको छ। त्यसरी नै खरसाङको 28 नम्बर समष्टि खरसाङ चिमनी देवराली समष्टिमा पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

भागोप्रमो खरसाङ गिद्ध पहाड़ समष्टिको सचिव एवं पञ्चायत समिति सदस्य भक्तिमान तामाङले खरसाङ गिद्ध पहाड समष्टिका सबै 19 वटै बुथहरुमा चुनाउ शान्तिपूर्ण सम्पन्न भएको बताए। उनले यस समष्टिका बुथहरू मध्ये स्प्रिङ साइडको 215 नम्बर बुथमा चुनाउ केही ढिलो भएको र शिकायतपछि अतिरिक्त चुनाउकर्मीहरू थपिएको जानकारी गराए। उनले यस क्षेत्रमा गोपाल लामाले जीत हासिल गर्ने दाबी गरेका छन्।

त्यसरी नै भाजपा 28 नम्बर समष्टिको मण्डल सभापति विशाल लामाले खरसाङमा चुनाउ शान्तिपूर्ण रूपमा सम्पन्न भएको र भाजपा प्रार्थी राजु विष्टले निश्चित रूपमा बिजय हासिल गर्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गोर्खाहरूको समस्या समाधान हुने पूर्ण आशा रहेको पनि बताएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande