मगर सङ्गठनद्वारा विधानसभा उपाध्यक्ष राजकुमारी थापालाई दिइयो बधाई
मगर सङ्गठनद्वारा विधानसभा उपाध्यक्ष राजकुमारी थापालाई दिइयो बधाई


गान्तोक, 30 जून (हि.स.)। अखिल सिक्किम मगर सङ्गठनले आज गान्तोक भीआईपी कलोनीस्थित सरकारी आवासमा एउटा कार्यक्रम आयोजना गर्दै सिक्किम विधानसभा, उपाध्यक्ष राजकुमारी थापा मगरलाई बधाई दिएको छ।

यस अवसरमा सङ्गठनले सिक्किम विधानसभामा विधानसभा उपाध्यक्ष जस्तो गरिमामय पदमा एउटा मगर चेलीलाई दायित्व प्रदान गरेबापत राज्यका मुख्यमन्त्री तथा सिक्किम क्रान्तीकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङप्रति आभार एवं कृतज्ञता प्रकट गरेको छ।

कार्यक्रममा मगर सङ्गठनका सम्पूर्ण कार्यकारिणी सदस्य, सल्लाहकार र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो भने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका मुख्य समन्वयक प्रचार-प्रसार विकास बस्नेतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाले आफूलाई प्राप्त भएको दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्ने बताउँदै सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र मुख्यमन्त्रीप्रति आभार व्यक्त गरिन्। उनले मुख्यमन्त्री प्रेमसिहं तामाङले हेरेको सुनौलो सिक्किमको सपनालाई साकार पार्न सबैले आफ्नो दायित्व निर्वाह गर्ने कुरामा जोड़ दिइन्।

यसरी नै सङ्गठनलाई प्रतिनिधित्व गर्दै दक्षिण जिल्लाबाट डीबी पुलामी, पश्चिम जिल्लाबाट टीएन थापा, पूर्व जिल्लाबाट सल्लाहकार वाईबी थापा, उपाध्यक्ष जीवन थापा मगर र दुर्गा राणा मगरले सिक्किम मगर समाजले समुदायका सदस्यहरूको कल्याणको निम्ति गर्दै आएका कल्याणकारी कार्यहरूबारे अवगत गराए। आफ्नो सम्बोधनमा पार्टीका मुख्य समन्वयक विकास बस्नेतले समुदायको कल्याणको निम्ति उठान गरिएका विषयलाई सरकारसम्म पुर्याउने आश्वासन दिए।

हिन्दुस्थान समाचार


 rajesh pande