अग्निशमन केन्द्रको निम्ति भागोप्रमो सोनादा पचेङ समष्टिले अनित थापालाई धन्यवाद दियो
Sonada-BGPM


सोनादा, 01 अगस्त (हि.स.)। सोनादा क्षेत्रमा अग्निशमन केन्द्रको स्थापना गरिने भएपछि सोनादा पचेङ समष्टिले पत्रकार सम्मेलनमार्फत जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएको छ। भागोप्रमो सोनादा पचेङ समष्टिका सभापति सोनाम लामाले सोनादा क्षेत्रको लागि अग्निशमन केन्द्रको निर्माण गरिने भएको तथा यसका लागि जमीनको सर्वे पनि सम्पन्न भइसकेको छ भन्दै सोनादा क्षेत्रका सम्पूर्ण जनताको तर्फबाट जीटीएका मुख्य कार्यपाल अनित थापालाई धन्यवाद दिए।

उनले सोनादा क्षेत्रको लागि अग्निशमन केन्द्र हुनुपर्छ भनी सर्वप्रथम सन् 2012 मा पूर्व सभासद महेन्द्र प्रधानको पालोमा कुरा उठेको जानकारी गराए। त्यसताक सोनादा क्षेत्रमा बौद्धिक सेल गठन गरेर सोनादा क्षेत्रमा जनताको लागि आवश्यक रहेका विभिन्न मागहरू उठाउॅंदै कार्य थालिएको बताए। उनले ती मागहरूमा सोनादा क्षेत्रमा 33 केबीको सब सेन्टर र सोनादा क्षेत्रमा माध्यमिक परीक्षाको लागि केन्द्र शुरु गरिनु पर्ने माग पूरा भएको छ भने अहिले आएर अग्निशमन केन्द्र स्थापनाको माग पनि पूरा हुन गइरहेको बताए।

उनले अग्निशमन केन्द्रको लागि बौद्धिक सेलको थालेको कार्यको फल अहिले प्राप्त भएको बताउँदै अनित थापाको कुशल नेतृत्वमा पहाड़मा विकासका कार्यहरू भइरहेको दाबी गरे। उनले बौद्धिक सेलमा एनआर भोटिया, देवकुमार प्रधान, एलके गुरुङ, स्व. उदय सुब्बा, स्व. बीके थापा, स्व. नारायण सुन्दास, गोबिन छेत्री, शंकर तामाङ, एलके राई, पूर्व विधायक डा. रोहित शर्मा आदि रहेको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक / बिशाल


 rajesh pande