गान्तोक, 08 मई (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊमा भोलि 9 देखि 12 मईसम्म आयोजना हुन लागेको 13औं वरिष्ठ राष्ट्रिय पेन्चक सिलाट प्रतियोगिता 2025-26 को निम्ति सिक्किमबाट सातजना खेलाडीले सहभागिता जनाउने भएका छन्। सिक्किम पेन्चक सिलाट संघको नेतृत्वमा उक्त प्रतियोगितामा सहभागी हुनको निम्ति खेलाडीहरूले तयारी गरिरहेका छन्।
सो प्रतियोगितामा सिक्किमको प्रतिनिधित्व गर्दै एड्रिना राई, दाउकी लेप्चा, प्रेरणा विष्ट, एलोमा सुब्बा, यमुना क्षेत्री, प्रकाश विष्ट र विशाल लिम्बूले भाग लिनेछन्। यी खेलाडीहरूले विभिन्न तौल समूह र विधामा प्रतिस्पर्धा गर्नेछन्। उनीहरूको चयन प्रदेशस्तरीय छनौट प्रतियोगितामार्फत गरिएको हो, जहाँ उत्कृष्ट प्रदर्शन गरेका कारण उनीहरू राष्ट्रिय प्रतियोगिताको लागि छनौट गरिएको जानकारी गराइएको छ।
पेन्चक सिलाट एक मलेशियाली मूलको युद्ध कला हो, जसले हाल नेपाल तथा भारतमा पनि लोकप्रियता बटुल्दै गएको छ। यस प्रकारको राष्ट्रिय प्रतियोगितामा सिक्किमका खेलाडीहरूको सहभागिताले राज्यको खेलस्तरलाई माथि उठाउने मात्र नभएर नयाँ खेलाडीहरूलाई पनि प्रेरित गर्ने संघले अपेक्षा गरेको छ।
हिन्दुस्थान समाचार / प्रदीप