खरसाङ, 09 मई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारी निवासी साइना छेत्रीले यसपालीको उच्च माध्यमिक परीक्षामा विज्ञान विषयमा 81.8 प्रतिशत अङ्क ल्याएर आफ्नो परिवार र गाउँ समाजलाई नै गौरवान्वित तुल्याएकी छन्। सिविटार चियाबारीको बुमथिङ्ग डाँडा निवासी पिता सञ्जय (सञ्जन) छेत्री र माता अञ्जु छेत्रीकी सुपुत्री साइना छेत्रीले यस वर्षको उच्च माध्यमिक परीक्षा विज्ञान विषयमा जम्मा 409 अङ्कसहित 81.8 प्रतिशत ल्याएर प्रथम दर्जामा उत्तीर्ण गरेकी छन्। खरसाङको पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा साइनाले विज्ञान विषयमा 81.8 प्रतिशत अङ्क ल्याएर विद्यालयमा दोस्रो टप्पर बनेकी छन्। सिविटार चियाबारीकी छोरी साइना छेत्रीले उच्च माध्यमिक परीक्षामा नेपाली भाषामा 84, अंग्रेजीमा 90, रसायन विज्ञानमा 75, गणितमा 70, भौतिक विज्ञानमा 80 र जीव विज्ञानमा 80 अङ्क गरी जम्मा 409 अंक प्राप्त गरेकी छन्। उनले आफ्नो भावी पढाई विज्ञानको कुनै विषयमा सम्मान लिएर सिलगढीमा पढ्ने योजना रहेको जानकारी गराएकी छन्।
हिन्दुस्थान समाचार / हनोक