खरसाङ, 12 जनवरी (हि.स.)। घैयाबारीमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्टमा तकदाह एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्ट्स एसोसिएशनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आइतवार दोस्रो क्वार्टर फाइनल खेल तकदाह एफसी र नयाँ कमान एफसीमाझ सम्पन्न भयो।
खेल शुरू भएको सातौं मिनटमा नयाँ कमानले गोल गरेर बढत बनाएको थियो। तर, लगत्तै तकदाहको तर्फबाट जर्सी नम्बर 6 सुरज छेत्रीले गोल गरेर खेल बराबरीमा ल्याए। त्यसपछि भने तकदाह एफसीले लगातार अन्तरालमा 2 गोल गरे भने पहिलो हाफको खेल 3-1 को अन्तरमा समाप्त भयो।
दोस्रो हाफको खेलमा पनि तकदाहले लगातार अन्तरालमा 3 गोल गरेर गोल स्कोर 6 पुऱ्यायो। एकतर्फी खेलमा तकदाहले नयाँ कमानलाई 6-1 को अन्तरले पराजित गर्दै सजिलै सेमिफाइनलमा प्रवेश गरेको छ। आजको खेलमा म्यान अफ् द म्याच तकदाह एफसीको जर्सी नम्बर 6 सुरज छेत्री चयन भएका छन्।
आज मुख्य अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष सुकमान उराव तथा विशिष्ट अतिथिको रुपमा पञ्चायत सदस्य अनिल तामाङ र शिक्षक एवं साहित्यकार युवराज सुन्दास उपस्थित रहेका थिए। आगामी 14 जनवरीमा हुने तेस्रो क्वार्टर फाइनल खेल सिविटार युनाइटेड र उदय संघ घैयाबारीमाझ हुनेछ।
घैयाबारी स्पोर्ट्स एसोसिएशनका सभापति सम्पल राईले भने, गत 11 जनवरी भएको पहिलो क्वार्टर फाइनल खेलमा जलपाइगढी नआएपछि चाँद एफसी सोझै सेमिफाइनलमा प्रवेश गरेको छ। 15 जनवरीमा चौथो तथा अन्तिम क्वार्टर फाइनल खेल हुनेछ। टुर्नामेन्टको सेमिफाइनल खेल आगामी 18 र 19 जनवरीमा हुनेछ भने फाइनल खेल आगामी 26 जनवरीमा सम्पन्न हुनेछ। टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने छ।
हिन्दुस्थान समाचार / हनोक