खरसाङ, 13 जनवरी (हि.स.)। भारतीय मानवाधिकार एसोसिएशन, खरसाङ शाखाका अध्यक्ष अधिवक्ता पंकज गुप्ताको नेतृत्वमा एक टोलीले खरसाङ महकुमा शासक आईएएस विन्दवासी तेजा दिपकसँग भेट गरी ज्ञापन चढाएको छ।
यस भेटघाट विषय जानकारी दिँदै ज्योति कुमार मुखियाले भने, 'मानवाधिकार एसोसिएशनको टोलीले महकुमा शासकलाई भेट गरेर सुधार गृहमा न्यायको प्रतीक्षामा रहेका व्यक्तिहरूलाई कोर्टमा उपस्थित गराउँदा खानाको व्यवस्था नभएको गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न एउटा ज्ञापन पत्र चढाएको छ। एसोसिएशनका सदस्यहरूले गत 10 दिसम्बर, 2024 काे दिन महकुमा शासकको अनुमति लिएर सुधार गृह भ्रमण गरेको थियो। त्यहाँ कैद व्यक्तिहरूसँगको कुराकानीमा उनीहरूलाई कोर्टमा सुनवाईको निम्ति लैजाँदा खानाको व्यवस्था नहुँदो रहेछ भन्ने थाहा लाग्यो। घण्टौं कोर्टमा भोको पेट बस्नु परेको कुरा सुधार गृहमा न्यायको प्रतीक्षामा रहेका व्यक्तिहरूको गुनासो रहेको थियो।'
मुखियाले जानकारी दिए अनुसार, महकुमा शासक तेजा दिपकले एसोसिएशनको ज्ञापनलाई स्वीकार गरेका छन्। यस मुद्दालाई अघि लैजाने अनि समाधान गर्ने वचन दिएका छन्। एसोसिएशनका सदस्यहरूले खरसाङमा भर्खर मात्र स्थानान्तरण भएर आएका ट्राफिक ओसी वीरेन्द्र छेत्रीलाई भेट गरेर खरसाङमा स्वागत जनाएका छन्। साथै एसोसिएशनका गतिविधिहरुबारे उनलाई अवगत गराए।
आज भेटघाट जानेहरूमा पंकज गुप्ता, ज्योतिकुमार मुखिया, सरोज चौहान, तापेश्वर प्रसाद, आनन्दकुमार झा, राजकुमार सिँह, सर्वर आलम अनि निर्मल गुरूङ रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक