दार्जिलिङ, 13 जनवरी (हि.स.)। चिया श्रमिकहरूको रहल 4 प्रतिशत बोनसबारे चाँडै फैसला गरियोस् भनेर हिमालयन प्लान्टेशन वर्कर्स युनियनले श्रम मन्त्री मलय घटकलाई पत्राचार गरेको छ। दार्जिलिङको चियाबारी श्रमिकहरूको 2023-24 को बोनस दर अझसम्म फैसला भएको छैन। सम्पूर्ण श्रमिकहरूले 20 प्रतिशतको दरले बोनस दिनुपर्छ भनी मालिकहरूलाई चाप दिनलाई आन्दोलनमा उत्रेका थिए।
मालिकहरू 11 प्रतिशत बोनस दिने अड़ान लिएपछि स्थिति तनावपूर्ण बनेको थियो। बोनसलाई लिएर धेरैपल्ट सभाहरू भए तापनि ठोस निष्कर्ष भने आउन सकेन। गत वर्ष नोभेम्बर महिनामा सिलगढीको डागापुरस्थित श्रमिक भवनमा श्रम मन्त्रीको उपस्थितिमा एउटा त्रिपक्षीय सभा सम्पन्न भएको थियो। तर त्यो सभामा पनि 20 प्रतिशत बोनसबारे निर्णय हुन सकेन।
सभा असफल भएपछि मन्त्रीले उक्त विषयलाई लिएर पन्ध्र दिनभित्र केही निर्णय लिइनेछ भनी आश्वासन दिएका थिए। तर आजसम्म पनि कुनै खबर नआउँदा श्रमिकहरूमा असन्तुष्टि बढ्दै गइरहेछ अनि चाँडै समाधान नगरे यस वर्षको पहिलो फसल उठाउने समयमा श्रमिक दिवस आन्दोलनले तीब्र रूप लिने सम्भावना रहेको बताइएको छ।
पत्रमा मन्त्रीलाई रहल 4 प्रतिशत बोनसको मुद्दा चाँड़ै समाधान गरियोस भनेर निवेदन गरिएको हिमालयन प्लान्टेसन वर्कर्स युनियन केन्द्रिय समितिको पक्षबाट बीके राईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्
हिन्दुस्थान समाचार / हनोक