दुधे एफसी घैयाबारीमा भइरहेको फुटबल टुर्नामेन्टको सेमिफाइनलमा पुग्न सफल
दुधे एफसी घैयाबारीमा भइरहेको फुटबल टुर्नामेन्टको सेमिफाइनलमा पुग्न सफल


खरसाङ, 15 जनवरी (हि.स.)। गोल किपर राजीव सिन्हाले तीनवटा पेनल्टी सुट सेभ गरेपछि दुधे एफसी घैयाबारीमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गर्न सफल बनेको छ। घैयाबारी स्पोर्ट्स एसोसिएशनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज चौथो क्वार्टर फाइनल खेल दुधे एफसी र एक्का ट्रायल घैयाबारीमाझ भयो।

यस खेलको पहिलो हाफमा एक्का ट्रायलले गोल गरेर बढत बनाएको थियो भने पहिलो हाफको खेल 1-0 मा समाप्त भयो। दोस्रो हाफको खेलमा दुधे एफसीको जर्सी नम्बर 10 ले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयसम्म दुवै 1-1 गोलको बराबरीमा‌ खेल समाप्त भएपछि पेनल्टी सुटआउट खेलाइएको थियो। पेनल्टी सुट आउटमा एक्का ट्रायलका तीन खेलाडीले हिर्काएको बललाई दुधे एफसीको गोल किपर राजीव सिन्हाले सेभ गरेपछि दुधे एफसी 3-1 को अन्तरले विजयी हुँदै सेमिफाइनलमा‌ प्रवेश गरेको छ।‌

अब दुधे एफसीको भिडन्त आगामी 19 जनवरीमा तकदाह एफसीसित हुनेछ।‌ आजको खेलमा‌ म्यान अफ् द म्याच दुधे एफसीको गोल किपर राजीव सिन्हालाई घोषित गरियो। आजको खेलमा मुख्य अतिथिको रुपमा श्रम मन्त्रालयका सह निर्देशक अपरुप विश्वास उपस्थित रहेका थिए।

घैयाबारी स्पोर्ट्स एसोसिएशनका मूल सचिव शंकु खवासले आगामी 18 र 19 जनवरीमा‌ सेमिफाइनल खेल हुने जानकारी गराए। उनले 18 जनवरीमा चाँद एफसी र उदय संघ घैयाबारीमाझ पहिलो सेमिफाइनल र 19 जनवरीमा तकदाह एफसी र दुधे एफसीमाझ दोस्रो सेमिफाइनल खेल हुने जानकारी गराए। उनले यस टुर्नामेन्टको फाइनल खेल आगामी 26 जनवरीमा सम्पन्न हुने जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande