खरसाङ, 15 जनवरी (हि.स.) खरसाङ महकुमा खेलकूद संघको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिने शहीद गोल्ड कप अन्तर्गत यस वर्षको खेल तालिका सार्वजनिक गरिएको छ। आज खरसाङमा खरसाङ महकुमा खेलकूद संघको तर्फबाट उक्त गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको हो। उक्त खेल तालिका खरसाङ महकुमा खेलकूद संघका सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, शहीद गोल्ड कपका संयोजक बिजय राई, कोषाध्यक्ष बसन्तसिंह र कार्यकारी सदस्यहरु मोहन राई र किशोर तामाङ आदिले सार्वजनिक गरेका छन्।
यसपालीको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको उद्घाटन खेल आगामी 19 जनवरीमा सम्पन्न छ। शहीद गोल्ड कप 2025 को खेल तालिका सार्वजनिक गरिएपछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले शहीद गोल्ड कप आगामी 19 जनवरीदेखि शुरू हुने बताए। उनले सेमिफाइनल खेलहरु 30 र 31 जनवरी तथा फाइनल खेल आगामी 2 फरवरीमा हुने जानकारी गराए।
उनले विगतका वर्षहरुमा उक्त प्रतियोगिता 17 जनवरीदेखि 30 जनवरीभित्र आयोजना हुने गरिए पनि यसपाली खरसाङको चानमारी खेल मैदानको मरमत्ति कार्यले गर्दा केही ढिलो भएको बताए। गुरुङले यसपाली शहीद गोल्ड कपमा सधैं झैं 12 वटा टिमहरु रहेको र विजेतालाई ट्रफीसहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने बताए।
उनले प्रतियोगिताको उद्घाटन म्याच 19 जनवरीको दिन गढवाल फाईफल्स कोलकोता र रायगञ्ज वेलफेयर अर्गनाइजेशनमाझ सम्पन्न हुने बताए। खरसाङको चानमारी खेल मैदानमा हुने उक्त शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला अनि खेलकूद विभागको सहयोगमा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा हुने बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक