हप्ताव्यापी जोरथाङ माघे संक्रान्ति मेलाको समापन
हप्ताव्यापी जोरथाङ माघे संक्रान्ति मेलाको समापन


जोरथाङ, 21 जनवरी (हि.स.)। जोरथाङ माघे संक्रान्ति मेला 2025 को आज विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ समापन भयो। समापन समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा पूर्व विधायक एवं मुख्यमन्त्रीकी धर्मपत्नि कृष्ण कुमारी राई, विधानसभा उपाध्याक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू, सल्लाहकार एवं अध्यक्षहरू लगायत अन्य गन्यमान्य व्यक्तिहरू उपस्थित थिए।

गत 14 जनवरीको दिन सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको विशेष उपस्थितिमा जोरथाङ माघे संक्रान्ति मेलाको विधिवत शुभारम्भ भएको थियो भने आज आठौं दिन उत्सवको समापन भएको छ।

कार्यक्रममा समारोह आयोजक समिति, गोर्खा गौरव संस्था कालेबुङ र अनमोल स्वयं सहायता समुह सोरेङ खण्ड एसआरएलएमद्वारा मुख्यमन्त्रीलाई अभिनन्दन जनाइयो। यसैगरी सिक्किम बक्सिङ संघको जर्सी मुख्यमन्त्रीको बाहुलीद्वारा अनावरण गरियो। कार्यक्रममा मुख्यमन्त्रीले चर्चित गायक उदय अनि मनिला सोताङको नयाँ म्युजिक एल्बम लोकार्पण गरे। कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीद्वारा मुख्यमन्त्री विवेकाधीन कोष मार्फत लाभार्थीहरूलाई आर्थिक सहायताको चेक वितरण गरियो।

समापन समारोह अन्तर्गत आज सॉंझ जोरथाङ खेल मैदानमा चर्चित गायक कैलाश खेरले आफ्नो साङ्गीतिक प्रस्तुति दिनेछन्। आज अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल टुर्नामेन्टको फाइनल पनि सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande