खरसाङ, 21 जनवरी (हि.स.)। खरसाङका सक्रिय युवाहरुका सामाजिक संस्था ईभान फाउण्डेशनको पाँचौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। ईभान फाउण्डेशन हालैमा पञ्जीकरण भएको संस्था हो र यो संस्थाले पाँच वर्षको अन्तरालमा सडकमा गीत गाएर बिमारीहरूकाे निम्ति सहयोग गर्ने, कहिले स्कूलमा रंग लगाउने गरे र कहिले विद्यार्थीहरुको इच्छा पूरा गर्ने आदि जस्ता कार्यहरू गर्दै आएका छन्।
खरसाङको ग्राम सुधार समितिमा यस संस्थाले आफ्नो स्थापना दिवस पालन गऱ्यो। कार्यक्रममा ईभान फाउण्डेशनले प्रदान गर्ने स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार २०२५ संजय छेत्रीलाई उनको सामाजिक र खेलकूदको क्षेत्रमा दिएको योगदानको लागि प्रदान गरेको छ। त्यसरी नै साहित्य र सामाजमा ठूलो योगदान पुऱ्याउने गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामालाई प्रदान गरियो। यसै क्रममा भोकल फर लोकलका आइकन मानिने मिङ्गमा गिर्मी शेर्पालाई प्रदान गरिएको छ।
कार्यक्रममा मुख्य अतिथिको रुपमा सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने साहित्यकार ग्याल्पो लामा विशिष्ट अतिथि थिए। कार्यक्रममा ग्लोरियस आईआईएचएम, परिवर्तन मुभमेन्ट, के नाईन, आवाज, सद्भावना सोसियल वेलफेयर सोसाइटी, लाली गुराँस, ग्राम सुधार समितिका प्रतिनिधिहरू पनि उपस्थित थिए।
समारोहमा ईभान फाउण्डेशनका अध्यक्ष प्रशान्त शर्माले संगठनको स्थापना र उद्देश्यसँगै खरसाङका युवाहरू पलायन हुनु अनि युवाहरू कुलतमा लाग्नु भनेको खरसाङको भविष्य अन्धकारमा डुब्नु रहेको बताए। उनले शिक्षित युवाहरु खरसाङमा बस्नुपर्छ र खरसाङलाई राम्रो बनाउन सक्नु पर्छ भनी बताए।
प्रमुख अतिथि सभासद श्याम शेर्पाले स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कारको सराहना गदै गोर्खे जातिले देशको निम्ति दिएको बलिदान हामीले देशलाई बताउनु सक्नु पर्छ भने। उनले ईभान फाउण्डेशनले गर्दै आइरहेका कार्यहरूको सराहना गरे।
विशिष्ट अतिथि ग्याल्पो लामाले ईभान फाउण्डेशनले इतिहास रचनेछ भन्दै ईभान फाउण्डेनका युवाहरुलाई सहयोग अनि मार्गदर्शन गर्ने बताए।
हिन्दुस्थान समाचार / हनोक