जगदलपुर, 17 अक्टोबर (हि.स.)। भारतका गृहमन्त्री अमित शाहले शुक्रबार जानकारी दिँदै भने, छत्तीसगढमा भारतीय जनता पार्टी (भाजपा) सरकार बनेपछि हालसम्म २१०० नक्सलीहरूले आत्मसमर्पण गरेका छन्। यससँगै करिब दुई हजार नक्सली पक्राउ परेका छन् र झण्डै पाँच सय निष्प्रभावी भएका छन्।
गृहमन्त्री शाहले आज सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा भने, “जनवरी २०२४ मा छत्तीसगढमा भाजपा सरकार बनेपछि २१०० नक्सलीहरूले आत्मसमर्पण गरेका छन्, १७८५ नक्सली पक्राउ परेका छन् र ४७७ निष्प्रभावी भएका छन्। यो ३१ मार्च, २०२६ भित्र नक्सलवादलाई जरैसहित अन्त्य गर्ने हाम्रो दृढ सङ्कल्पको प्रतिबिम्ब हो।”
शाहका अनुसार, विगत दुई दिनमै कुल २५८ वामपन्थी उग्रवादीहरूले हिंसाको बाटो त्यागेका छन्। बिहिबार मात्रै १७० नक्सलीहरूले आत्मसमर्पण गरेका थिए भने एक दिन अघि २७ जनाले हतियार बिसाए। महाराष्ट्रमा पनि ६१ नक्सलीहरूले आत्मसमर्पण गरी मुख्यधारमा फर्किएका छन्। शाहले यसलाई नक्सलवादविरुद्धको लडाइँमा ठूलो सफलता बताएका छन्।
उनले भने, “हिंसा त्यागी भारतको संविधानमा विश्वास पुनर्स्थापित गर्ने सबै नक्सलीहरूको निर्णयको म प्रशंसा गर्छु। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारका निरन्तर प्रयासहरूको परिणामस्वरूप नक्सलवाद अब अन्तिम सास फेर्दैछ। हाम्रो नीति स्पष्ट छ, जो आत्मसमर्पण गर्न चाहन्छ स्वागत छ, तर जसले हतियार उठाइरहन्छ, उनीहरूले सुरक्षाबलहरूको कठोर कारबाहीको सामना गर्नुपर्छ।”
शाहले सबै नक्सलीहरूलाई हतियार त्यागी मुख्यधारमा फर्किन आग्रह गरेका छन्। गृह मन्त्रालयले सामाजिक सञ्जालमा जानकारी दिँदै जनाए, देशभर नक्सल प्रभावित जिल्लाहरूको संख्या १८ बाट घटेर अहिले ११ मात्र बाँकी छ। तीमध्ये अति प्रभावित जिल्लाहरू पनि ६ बाट घटेर ३ भएका छन्, जुन छत्तीसगढका बीजापुर, सुकमा र नारायणपुर हुन्
-------------
हिन्दुस्थान समाचार / भवानी थामी