फतेहपुर, 17 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको फतेहपुर जिल्लामा भीडद्वारा कुटपिटबाट ज्यान गुमाएका हरिओम बाल्मीकीका पीडित परिवारलाई आज कांग्रेसका पूर्व अध्यक्ष तथा सांसद राहुल गान्धीले भेट गरेका छन्। गान्धीले परिवारका सदस्यहरूसँग कुराकानी गर्दै उनीहरूको दुख र पीडा सुने र संवेदना प्रकट गरे। उनले कांग्रेस पार्टीको तर्फबाट सम्भव सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।
घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ। शुक्रबार बिहान ९:३० बजे राहुल गान्धी मृतक हरिओम बाल्मीकीका पिता, भाई र अन्य परिवारजनलाई भेट्न पुगे। उनले पीडित परिवारलाई न्याय दिलाउनका लागि कडा कारबाहीको माग गरेका छन्।
फतेहपुरका ३८ वर्षीय दलित युवक हरिओम बाल्मीकीको गत 2 अक्टोबर, २०२५ मा रायबरेली जिल्लामा चोरीको आरोप लगाउँदै भीडले पिटेर हत्या गरेको थियो। उनको शव रायबरेली जिल्लाको हरचन्दपुर थाना अन्तर्गत ईश्वरदासपुर रेलवे हाल्ट नजिक फेला परेको थियो। त्यसपछि उनको कुटपिटको भिडियो भाइरल भएको थियो। यस मामलामा पुलिसले मुद्दा दर्ता गरी १२ जना आरोपीलाई पक्राउ गरी जेल पठाइसकेको छ।
मृतकका भाई शिवमले भिडियो सन्देश जारी गर्दै प्रशासनको कारबाहीप्रति सन्तुष्टि व्यक्त गर्दै भनेका छन्, “राहुल गान्धी यहाँ राजनीति गर्न आउनु हुँदैन।” यसअघि परिवारले राहुल गान्धीसँग भेट गर्न अस्वीकार गरेको थियो। कांग्रेसले भने यसलाई भाजपाद्वारा गरिएको दबाउको षड़यन्त्र ठहर गरेको छ।
मुख्यमन्त्री योगी आदित्यनाथ पनि गत शनिबार हरिओम बाल्मीकीकी श्रीमती सगीता, छोरी अनन्या र अन्य परिवारजनलाई भेटिसकेका छन्। उनीसँगै रायबरेलीको ऊँचाहार क्षेत्रका विधायक मनोज पाण्डे पनि उपस्थित थिए। जिल्ला प्रशासनले मृतकका दिदी र भाईलाई सरकारी जागिर दिइसकेको छ, दिदी कुसुमलाई स्टाफ नर्स र भाई शिवमलाई समाज कल्याण विभागअन्तर्गतको विद्यालयमा रोजगारी दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी