सोनादा, 17 अक्टोबर (हि.स.)। केन्द्र सरकारद्वारा गोर्खाहरुको दीर्घकालीन मागलाई सम्बोधित गर्न गरिएको इन्टरलोक्युटरको नियुक्तलाई भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटीले स्वागत जनाएको छ। भाजपा दार्जिलिङ जिल्ला कमिटीका अध्यक्ष सञ्जीव लामाले आज पत्रकारहरुसँग कुराकानी गर्दै केन्द्र सरकारले गोर्खाहरुको दीर्घकालीन मागलाई एक कदम अघि बढाउँदै जुन पदक्षेप लिएर इन्टरलोक्युटर नियुक्ति गरेको छ, त्यसलाई भाजपा र यसका गठबन्धन दलहरुले स्वागत गर्दछ भनी बताए।
उनले केन्द्र सरकारले गोर्खाहरुको लागि पूर्व आईपीएस अधिकारी पंकजकुमार सिंहलाई इन्टरलोक्युटर नियुक्त गरेकोमा केन्द्र सरकारप्रति भाजपा दार्जिलिङ जिल्ला, गठबन्धन दलहरु र जनसाधारण जनताको तर्फबाट धन्यवाद दिए। उनले पहाडमा अहिले कुनै आन्दोलन भएको छैन, तर पनि केन्द्र सरकारले गोर्खाहरुको दीर्घकालीन मागलाई सम्बोधन गर्दै गोर्खाहरुलाई न्याय दिलाउन उक्त कदम उठाएकोमा धन्यवाद दिए।
लामाले भने, हामीले लगातार रुपमा सांसद, विधायक जिताएर पठाइरहेका छौं। त्यसैको मुताबिक सरकारले गोर्खाहरुको लागि निर्णय गर्दै गरेको नियुक्तिलाई हामी स्वागत गर्छौं। अब हामी इन्टरलोक्युटरसित बसेर के कसरी काम गर्ने त्यो गर्नेछौं।' भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले अघि भने, अहिले लोकसभा र राज्यसभामा हाम्रा दुईजना सांसदहरु छन्। हामी अब इन्टरलोक्युटरसित बसेर के कसरी काम गर्नु पर्ने हो त्यो गर्नेछौं।'
हिन्दुस्थान समाचार / हनोक