सोनादा डिग्री कलेजमा स्वागत समारोह सम्पन्न
सोनादा डिग्री कलेजमा स्वागत समारोह सम्पन्न


सोनादा, 17 अक्टोबर (हि.स.)। शैक्षिक सत्र 2025-26 का लागि नयाँ भर्ना भएका प्रथम सत्रका विद्यार्थीहरूको लागि स्वागत समारोह आयोजन गरियो। तेस्रो र पाँचौं सत्रका विद्यार्थीहरूद्वारा आयोजित समारोहमा कलेजका शिक्षक प्रभारी डा. प्रमोद छेत्री सभाध्यक्ष र नेताजी नगर डे कलेज कलकत्ताका प्राध्यापक उमा भट्टाचार्य प्रमुख अतिथि थिए।

यस अवसरमा तेस्रो र पाँचौं सत्रका विद्यार्थीहरूले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए। यसैगरी, प्रथम सत्रका विद्यार्थीहरुद्वारा प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरुलाई हेरेर निर्णायकहरूले मूल्याङ्कन गरेपश्चात सर्वश्रेष्ठ अङ्क ल्याउने निहाल छेत्रीलाई मिस्टर फ्रेसर र याङ्चु तामाङलाई मिस फ्रेसरको रुपमा घोषणा गरियो। उनीद्वयलाई स्मृति चिन्ह र पुरस्कारहरू प्रदान गरियो।

कार्यक्रममा गत 4 अक्टोबरको राति आएको भारी वर्षाले विभिन्न ठाउँमा पुर्‍याएको जन-धनको क्षतिप्रति समवेदना एवं मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। छोट‍ो समयको अभ्यासमा पनि विद्यार्थीहरूले स्वागत समारोहलाई सफलतापूर्वक सम्पन्न गरेकोमा सांस्कृतिक कमिटीका संयोजक प्रा.मेघनाथ छेत्री लगायत शिक्षक प्रभारी डा प्रमोद छेत्रीले विद्यार्थीहरूको सराहना गरेका छन्।

कलेजका विद्यार्थीहरुको प्रतिभा र कलेजको सुन्दर परिवेश देखेर प्रमुख अतिथि प्रोफेसर उमा भट्टराईले आफ्नो सम्बोधनमा प्रशंसा गर्दै यस्ता प्रतिभाशाली विद्यार्थीहरूले अध्ययनको क्षेत्रमा पनि अझ मेहनत गरे धेरै सफलता हासिल गर्न सक्ने विचार व्यक्त गरिन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande