भोपाल, १८ अक्टोबर (हि.स.)।
यस वर्षको दीपावली पर्व पाँच होइन, छ दिनसम्म मनाइने भएको छ। दीपोत्सवको सुरुवात आज धनतेरसबाट हुनेछ। यसपालि पितृ कार्यकी अमावस्या २१ अक्टोबरमा परेकाले पर्वहरूको क्रम एक दिन पछाडि सरेको हो। यसअनुसार दीपावलीको मुख्य पर्व २० अक्टोबरमा, गोवर्धन पूजा २२ अक्टोबरमा र भाईटिका २३ अक्टोबरमा मनाइनेछ।
सम्राट विक्रमादित्य विश्वविद्यालय, उज्जैनका ज्योतिष विभागका आचार्य डा. सर्वेश्वर शर्माका अनुसार, यस वर्षको दीप महोत्सवमा १८ अक्टोबरमा धनतेरस, १९ अक्टोबरमा रूप चतुर्दशी, २० अक्टोबरमा दीपावली, २१ अक्टोबरमा पितृ कार्यको अमावस्या, २२ अक्टोबरमा गोवर्धन पूजा र २३ अक्टोबरमा भाईटिका पर्व मनाइनेछ। डा. शर्माले भने, “यसपालि दीप पर्व पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको विशेष संयोगमा मनाइने भएकाले यो अत्यन्त शुभ मानिएको छ।”
ज्योतिषाचार्य पं. चन्दन व्यासका अनुसार, त्रयोदशी तिथि शनिबार दिउँसो १२ बजेर २० मिनेटपछि सुरु हुनेछ। यस दिन पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको मेलले पर्वलाई अझ मंगलमय बनाउनेछ। पौराणिक मान्यताअनुसार, कार्तिक महिनाको कृष्ण पक्ष त्रयोदशीका दिन समुद्र मन्थनबाट भगवान् धन्वन्तरि अमृत कलशसहित प्रकट भएका थिए, त्यसैले यो तिथिलाई धनतेरस वा धनत्रयोदशी भनिन्छ। यस दिन भगवान् धन्वन्तरि, माता लक्ष्मी, भगवान् कुबेर, यमराज र श्री गणेशको पूजा गरिन्छ।
धनतेरसका दिन किनमेल गर्नु शुभ मानिन्छ। ज्योतिषाचार्य व्यासका अनुसार, यस दिन सुन–चाँदी, भाँडाकुडा, सवारी साधन, कुबेर यन्त्र, गोमती चक्र तथा देवी–देवताका मूर्तिहरू किन्नु विशेष लाभदायक हुन्छ। त्यसैगरी झाडू किन्नु पनि शुभ मानिन्छ, किनभने यसलाई दरिद्रता नाशक र लक्ष्मी आगमनको प्रतीक भनिएको छ। विद्वान्हरूका अनुसार, व्यक्तिले आफ्नो सामर्थ्यअनुसार वस्तुहरू खरिद गर्नुपर्छ, ताकि लक्ष्मीको कृपा स्थायी रहोस्।
आचार्य भरत दुबेका अनुसार, हिन्दू पात्रोअनुसार यस वर्ष धनतेरसको पर्व शनि प्रदोष व्रतको संयोगमा परेको छ, जसले यसको धार्मिक महत्व अझ बढाएको छ। महाकालेश्वर मन्दिरमा शनिबार विशेष पूजन, अभिषेक र रुद्रपाठको आयोजना हुनेछ। मन्दिरका पुजारी दिलीप गुरुका अनुसार, बिहान भगवान् महाकालको अभिषेक–पूजन हुनेछ, अपराह्न ४ बजेदेखि गर्भगृहमा रुद्रपाठ हुनेछ र साँझ विशेष आरतीसहित नैवेद्य अर्पण गरिनेछ।
ज्योतिषाचार्यहरूको भनाइमा, यसपालिको दीपोत्सव धार्मिक र ज्योतिषीय दृष्टिले अत्यन्त शुभ रहनेछ। पूर्वा फाल्गुनी नक्षत्र, ब्रह्म योग र शनि प्रदोषजस्ता योगहरूले धनतेरस र दीपावली दुबैलाई विशेष बनाइरहेका छन्। उज्जैनसहित सम्पूर्ण प्रदेशमा भक्तहरूले माता लक्ष्मी, भगवान् धन्वन्तरि र महाकालेश्वरको पूजा गरी सुख, स्वास्थ्य र समृद्धिको कामना गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी