दार्जिलिङ, 18 अक्टोबर (हि.स.)। रिम्बिक लोधोमा क्षेत्रका पैह्रो पिडीतहरूलाई भेटेर घर फर्कने क्रममा सांसद राजु विष्टको काफिलामाथि अज्ञात व्यक्तिले ढुङ्गाले हमला गरेको छ। रिम्बिक लोधोमा क्षेत्रमा पैह्रो प्रभावितहरुलाई भेटेर सिलगढी फर्किने क्रममा सुखे पोखरी नजिक मासधुरा क्षेत्रमा सांसद राजु विष्टको कन्भोयमाथि असामजिक तत्वहरूले ढुङ्गा हिर्काएको बताइएको छ।
प्राप्त जानकारी अनुसार, साँझ 6:45 बजीतिर सुखे पोखरी नजिक आइपुग्दा सांसद राजु विष्टको गाडीलाई लक्षित गरेर हिर्काएको ढुङ्गाले सांसद राजु विष्टको गाडीलाई नलागेर पछाडिपट्टिको गाडीलाई लागेर गाडीलाई क्षति पुगेको छ। उक्त घटनापछि सांसद राजु विष्टले जोरबङ्गालो पुलिस थानामा आएर आक्रमणकारी विरुद्ध एफआईआर दर्ता गराएको जानकारी प्राप्त भएको छ।
उक्त आक्रमणको घटनालाई लिएर पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले आफु रिम्बिक लोधोमा क्षेत्रमा पैह्रो प्रभावितहरुलाई भेटेर फर्किएको समयमा सुखे पोखरी नजिक आइपुग्दा आफ्नो गाडीलाई लक्षित गरी बदमाशहरुले ढुङ्गाले आक्रमण गरेको बताए। उनले ढुङ्गाले आफ्नो गाडीमा नलागेर पछाडिपट्टिको गाडीलाई लागेर सिसा फुटेको बताए।
सांसद राजु विष्टले गोर्खा जातिको समस्या समाधानको लागि केन्द्र सरकारले पहल गर्दै इन्टरलोक्युटर नियुक्ति गरेको समयमा हमला गरिएको बताए। उनले भने, 'म चाहन्छु पहाडमा शान्ति बनिरहोस्। सबैले आफ्नो पार्टीको सिद्धान्तमा रहेर कार्य गर्न सक्छन्, तर यस्तो घटनाको घोर विरोध गर्दछु। हिंसाको राजनीतिमा विश्वास गर्छ भने हामी पनि तयार छौँ। पुलिसले बदमाशलाई पक्राउ गरेर कारवाही गरोस्।'
सांसद राजु विष्टले अघि भने, 'यो आपदाको समयमा आपदा प्रभावित जनतालाई सहायता गर्न सांसद र विधायक दैनिक 8 घण्टा पैदल हिँडेर मानिसहरुलाई सहयोग गर्न पुग्छन्। तर ममता दिदीको शासनमा यस्तो घटना घट्छ। यस्तो घटना नयाँ होइन। सबैलाई थाहा छ सांसद र विधायकमाथि हमला गरिएको घटना।'
हिन्दुस्थान समाचार / हनोक