रतलामको महालक्ष्मी मन्दिर हीरा र गर-गहनाले सजाइयो
रतलामको महालक्ष्मी मन्दिर हीरा र गर-गहनाले सजाइयो


रतलाम (मध्य प्रदेश), १८ अक्टोबर (हि.स.)। दिपोत्सवको रौनकबीच रतलामको माँ महालक्ष्मी मन्दिर यसपालि पनि आफ्नो अद्वितीय र भव्य सजावटका कारण चर्चामा छ। मन्दिरलाई फूलहरूले होइन, हीरा, गर गहना र नोटका मालाले सजाइएको छ। गर्भगृहदेखि पर्खालसम्म सबै ठाउँमा मुद्रा र गहनाको चमक देख्न सकिन्छ। कतै १० रुपियाँका नोटका छन्, त कतै ५०० का, यस्तो लाग्छ, मानौँ सारा मन्दिर कुबेरको खजाना बनेको हो।

मन्दिर समितिका अनुसार, यस वर्ष करिब दुई करोड रुपियाँ बराबरको नगद र गहनाले मन्दिर सजाइएको छ। दिपोत्सवका पाँच दिन पूरा भएपछि यो सम्पूर्ण धनराशी र गहना “प्रसादी” का रूपमा दाताहरुलाई फिर्ता दिइन्छ। परम्परा अनुसार, अहिलेसम्म यहाँबाट एक रुपियाँ पनि हेरफेर भएको छैन।

३०० वर्ष पुरानो परम्परा

महालक्ष्मी मन्दिरका पुजारी अश्विनी पुजारीका अनुसार, यो मन्दिर करिब ३०० वर्ष पुरानो हो र रियासतकालीन सम्पदाको प्रतीक हो। रतलामका संस्थापक महाराजा रतनसिंह राठौरले जब शहरको स्थापना गरेका थिए, त्यतिबेलादेखि नै यहाँ दीपावली राजकीय भव्यताका साथ मनाइँदै आएको छ। राजा आफ्ना प्रजाको समृद्धि, सुख र निरोगी जीवनको कामना गर्दै पाँच दिनसम्म शाही खजानाका सुन–चाँदीका गहना माता लक्ष्मीलाई अर्पण गर्ने गर्थे। यही परम्पराले समयसँगै रूप बदलेको छ र अहिले भक्तजनहरूले आफ्ना गहना, नगद र नोट मन्दिरको सजावटका लागि अर्पण गर्छन्।

पं. अश्विनी पुजारीका अनुसार, दीपावली प्रकाश र समृद्धिको पर्व हो, जहाँ विष्णु भगवानकी अर्धाङ्गिनी महालक्ष्मीको पूजा मुख्य अंग हो। भक्तजन विश्वास गर्छन् कि जसको धन महालक्ष्मीको श्रृंगारमा प्रयोग हुन्छ, त्यस घरमा सुख, सम्पन्नता र धनको वर्षा हुन्छ। यही कारण रतलाम मात्र होइन, छिमेकी राज्यहरूबाट पनि भक्तजन यहाँ आउँछन् ताकि उनीहरूको धन “माँको आराधना” मा प्रयोग होस्।

यस वर्ष दुई करोडको सजावट

मन्दिर समितिका अनुसार, यस वर्षको सजावटमा रतलाम, झाबुआ, मंदसौर, नीमच, गुजरात र राजस्थानबाट पनि ठूलो संख्यामा भक्तजनहरूले योगदान दिएका छन्। केही भक्तहरूले पाँच लाख रुपियाँसम्म दान गरेका छन्। करिब १००० भक्तजनहरूले मिलेर यसपटकको सजावट पूरा गरेका हुन्। प्रत्येक दानको अनलाइन इन्ट्री र डिजिटल रेकर्ड राखिएको छ। नोट गन्ने मेसिनको प्रयोग भएको छ र दाताको नाम, ठेगाना, फोटो र मोबाइल नम्बर दर्ता गरिएको छ। हरेक दातालाई मन्दिरको छापसहित डिजिटल टोकन दिइएको छ। दिपोत्सवको पाँचौँ दिन यही टोकन देखाएर दाताले आफ्नो धन “प्रसाद” का रूपमा फिर्ता पाउँछन्।

उल्लेखनीय छ, महालक्ष्मी मन्दिरको सजावटको काम दीपावलीभन्दा एक हप्ता अगाडि सुरु हुन्छ। शरद पूर्णिमादेखि नै भक्तजनद्वारा नगद र गहनाको आगमन सुरु हुन्छ। मन्दिरलाई १, १०, २०, ५०, १०० र ५०० रुपियाँका नयाँ नोटहरूले सजाइन्छ। ती नोटबाट बन्दनवार, झालर र पर्खालका सजावट तयार गरिन्छ। गर्भगृहलाई खजानाजस्तो सजाइन्छ, जहाँ माता महालक्ष्मी आठ स्वरूपमा विराजमान छन्। मन्दिरमा लक्ष्मी मातासँग भगवान गणेश र माता सरस्वतीका मूर्तिहरू पनि छन्। लक्ष्मीजीको हातमा धनको झोला छ, जसलाई समृद्धि र वैभवको प्रतीक मानिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande