पाकिम, 19 अक्टोबर (हि.स.)। खेलकुद एवं युवा मामिला विभाग, पाकिम जिल्लाले आगामी राज्यस्तरीय स्कूल गेम्सलाई ध्यानमा राख्दै आज जिल्लास्तरीय स्कूल गेम्स 2025 सम्पन्न गऱ्यो। उक्त खेलहरू सन्त जेभियर्स स्कूलको खेलमैदान र आर्क एकेडेमी स्कूलको खेलमैदानमा आयोजन गरिएको थियो। कार्यक्रममा शिक्षा विभागकी संयुक्त निर्देशक भक्ति शर्मा मुख्य अतिथि थिइन्।
यस अघि पाकिम जिल्लाका विभिन्न ठाउॅंहरूमा अन्तर विद्यालय ब्लकस्तरीय प्रतियोगिताहरू आयोजना गरिएको थियो। ब्लकस्तरीय प्रतियोगिताका विजेताहरूले जिल्लास्तरीय प्रतियोगितामा भाग लिएका थिए। यसैगरी, जिल्लास्तरीय प्रतियोगिताका विजेताहरूले आगामी राज्यस्तरीय स्कूल गेम्समा भाग लिनेछन्।
प्रतियोगिताहरू अन्डर 16 बोइज र गर्ल्स वर्गमा आयोजना गरिएको थियो, जसमा एथलेटिक्स, आर्चेरी, बास्केटबल, कबड्डी, खो खो, टेबल टेनिस र ताइक्वाण्डो सामेल थिए। प्रतियोगिताको समापनमा विजयी प्रतिभागीहरूलाई प्रमाणपत्र प्रदन गरियो।
हिन्दुस्थान समाचार / बिशाल