सोनादा, 19 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा ममता सरकारमा हिंसा बढिरहेको छ। महिलाहरुमाथि उत्पीडन र अत्याचार बढिरहेको छ र व्यापक रूपमा भ्रष्टाचार बढिरहेको छ। कानुन व्यवस्था झन बिग्रॅंदै गइरहेको छ। उक्त कुरा दार्जीलिङका सांसद राजु विष्टले भनेका हुन्।
उनले सोनादामा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, अहिले उत्तर बंगालमा ठूलो प्राकृतिक आपदा आइपरेको छ। तर तृणमूल कांग्रेसको कुनै पनि मन्त्री जनताको साथमा फिल्डमा छैनन्। भाजपाका कार्यकर्ताहरु, सांसद र विधायक सबै जनताको साथमा फिल्डमा उत्रेर सहायता गरिरहेका छन्। सांसद र विधायकमाथि लगातार आक्रमण भइरहेको छ। हिजो सुदुर गाउँमा भ्रमण गरेर फर्कने क्रममा आफुमाथि आक्रमण भएको उनले बताए।
सांसद विष्टले आफुमाथि हमला गरिएको, तर पछाडिको गाडीमा लागेर सिसा फुटेको बताउँदै यस आक्रमणको विरुद्ध जोरबंगलो थानामा एफआईआर दर्ता गराएको बताए। उनले अब पुलिसले कारबाही गर्छ कि गर्दैन त्यो हेर्नु पर्ने छ भनी बताए। सांसद राजु विष्टले योभन्दा पहिला पनि आफुमाथि हमला गरिएको जानकारी गराउँदै यत्रो ठूलो आपदाको समयमा फिल्डमा रहेको सांसदमाथि यसरी आक्रमण हुनु राम्रो कुरा होइन भनी बताए।
हिन्दुस्थान समाचार / हनोक