स्टेशन महोत्सव अन्तर्गत सोनादा रेलवे स्टेशनमा नयाँ साइन बोर्डको उद्घाटन
स्टेशन महोत्सव अन्तर्गत सोनादा रेलवे स्टेशनमा नयाँ साइन बोर्डको उद्घाटन


दार्जिलिङ हिमालयन रेलवे हाम्रो लागि मुटु हो: सांसद राजु विष्ट

सोनादा, 19 अक्टोबर (हि.स.)। दार्जिलिङ हिमालयन रेलवेद्वारा आइतबार सोनादा रेलवे स्टेशनमा स्टेशन महोत्सव पालन गर्दै सोनादा रेलवे स्टेशनमा नयाँ बोर्डको उद्घाटन गरिएको छ। विश्वमा रेलवे सेवा शुरु गरिएको 200 वर्ष पूरा भएको अवसरमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा हरेक रेलवे स्टेशनमा स्टेशन महोत्सव आयोजना भइरहेको छ। यसै अवसरमा आइतबार सोनादा रेलवे स्टेशनमा स्टेशन महोत्सव पालन गरियो।

कार्यक्रममा मुख्य अतिथिको रुपमा दार्जिलिङका सांसद राजु विष्ट उपस्थित रहेका थिए। सांसद राजु विष्टको बाहुलीबाट सोनादा रेलवे स्टेशनमा निर्माण गरिएको नयाँ साइन बोर्डको उद्घाटन गरियो। यसका साथै दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भइरहेको शताब्दी मार्च पनि सोनादा आइपुगेको छ।‌ राष्ट्रपिता महात्मा गान्धीको दार्जिलिङ यात्राको सय वर्ष पुगेको अवसरमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा दार्जिलिङदेखि सिलगढीसम्म शताब्दी मार्च गत 18 अक्टोबरदेखि दार्जिलिङबाट शुरु भएको थियो। उक्त शताब्दी मार्च आइतबार सोनादा रेलवे स्टेशनमा आइपुग्यो।

यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिशप चौधरी, सोनादा गोर्खे हाटका प्रतिनिधिहरु, अप्पर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान दावा तामाङ, भुपेन गुरुङ अनि अन्यहरु उपस्थित रहेका थिए। सांसद राजु विष्टले आफ्नो सम्बोधनमा भने, दार्जिलिङ हिमालयन रेलवे हाम्रो लागि मुटु हो।‌ दार्जिलिङ हिमालयन रेलवे हाम्रो आत्मामा बसेको छ। डीएचआरले अहिले धेरै नयाँ रेल सेवाहरू शुरु गरेको छ, जसको लागि डीएचआरको निर्देशक रिशप चौधरीलाई बधाई छ। यो सम्पत्तिलाई सम्हालेर संरक्षण गर्नु हाम्रो पनि दायित्व हो।

सांसद राजु विष्टले आफ्नो सम्बोधनमा रेलवे सेवा शुरु भएको 200 वर्ष पुगेको र महात्मा गान्धीको दार्जिलिङ यात्राको सय वर्ष पूरा गरेकोमा सबैमा बधाई पनि दिए। उनले हालमा पहाडमा आएको प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरे।

यस स्टेशन महोत्सव र शताब्दी मार्च विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिशप चौधरीले विश्वमा रेलवे सेवा शुरू भएको सेप्टेम्बर 2025 मा 200 वर्ष पूरा गरेको र यसै अवसरमा दार्जिलिङ हिमालयन रेलवेद्वारा प्रत्येक रेलवे स्टेशनमा स्टेशन महोत्सव पालन गर्दै आइरहेको बताए। उनले महात्मा गान्धी दार्जिलिङ पहाड आएको 100 वर्ष पूरा भएको अवसरमा पनि शताब्दी मार्च अन्तर्गत दार्जिलिङदेखि सिलगढीसम्म‌ मार्च आयोजना गरिएको बताए।

यसै अन्तर्गत अर्को टिमले आज घुमदेखि सोनादा रेलवे स्टेशनसम्म यात्रा आयोजना गरेको उनले जानकारी गराए। उनले यो स्टेशन महोत्सव अन्तर्गत स्थानीय संस्कृतिलाई संरक्षण र सम्बर्द्धनको लागि स्थानीयहरुको आयोजनामा भइरहेको पनि बताएका छन्‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande