एनएच 110 अन्तर्गत महानदीको पैह्रो मरमत्तिको माग
एनएच 110


सोनादा, 19 अक्टोबर (हि.स.)। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदीको तिरसठ पाखामा रहेको पैह्रो रोकथामको लागि झट्टै पहल गरिनु पर्ने स्थानीयहरुले माग गरेका छन्। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदी तिरसठ लाइनमा गत वर्ष 30 जून, 2024 मा गएको पैह्रोले राष्ट्रिय राजमार्ग 110 को सडक नै लगेपछि अस्थायी रुपमा निर्माण गरिएको बाटो भएर गाडीहरु कुदिरहेको थियो। गत 4 अक्टोबरको राति रोहिणी रोडमा पैह्रो गएर रोड बन्द भएपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदीको तिरसठ लाइनको पैह्रोमा‌ अस्थायी रुपमा बनाइएको बाटो भएर नै दैनिक रुपमा धेरै गाडीहरु कुद्न थालेपछि धेरै समस्या भइरहेको छ।

शनिवार बिहान यस पैह्रो क्षेत्रमा दार्जिलिङबाट सिलगढी गइरहेको वेगनार गाडी दुर्घटना भएको थियो। उक्त दुर्घटनापछि झन् उक्त पैह्रो मरमत्तिको माग पुनः टड्कालो रुपमा उठेको छ। यो पैह्रो क्षेत्रमा राष्ट्रिय राजमार्गको सडक झट्टै मरमत्ति गरिनु पर्ने देखिएको छ। अहिले रोहिणी रोड बन्द भएको कारणले यही रोड भएर लगातार रुपमा गाडीहरु कुद्ने भएकाले यो अस्थायी रुपमा बनाइएको बाटो पनि दबिन सक्ने सम्भावना देखिएको छ।

यस पैह्रो क्षेत्रमा शनिवार बिहान गाडी दुर्घटना भएपछि तिरसठ गाउँ समाज महानदीको तर्फबाट तयार पारिएको ज्ञापन पत्रमा महानदी ग्राम पञ्चायतको प्रधानबाट सिफारिस गरेर खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीलाई सुम्पिएको छ। ज्ञापन पत्रमा‌ महानदीको तिरसठ लाइनमा रहेको पैह्रो क्षेत्र भएर धेरै गाडीहरु कुद्ने‌ भएकाले यहाँ एकजना ट्राफिक पुलिस तैनात गर्नुपर्ने माग राखिएको छ। समस्या विषयमा समाजको टोलीले जानकारी गराएको छ। यस टोलीमा तिरसठ गाउँ समाज महानदीको तर्फबाट सचिव रमेश शंकर, कार्यकारी सदस्य पेम्बा तामाङ र महनदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा रहेका थिए।‌

उक्त ज्ञापनपछि ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले महानदीको तिरसठ लाइनमा रहेको पैह्रो क्षेत्रमा सोमबारदेखि ट्राफिक पुलिस दिने आश्वासन दिएको जानकारी प्राप्त भएको छ। यसका साथै यस पैह्रोको बाटो विषयमा महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पाले दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिशप चौधरीलाई पत्र मेल गरेर पठाएको पनि जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande