ढाका, २२ अक्टोबर (हि.स.)। बांग्लादेशको अन्तरराष्ट्रिय अपराध न्यायाधिकरण–१ (आईसीटी–१) ले आज बिहान १५ जना हालका सैनिक अधिकारीहरूलाई जेल पठाउने आदेश दिएको छ। यी सबैमाथि जुलाई बिद्रोहका क्रममा हत्या र दुई व्यक्तिलाई बेपत्ता पारेको आरोप लागेको छ। आईसीटी–१ को आदेशपछि ती सबै सैनिक अधिकारीहरूलाई विशेष सुरक्षामा जेल लगियो। ती अधिकारीहरूलाई बिहान करिब ७ बजे कडा सुरक्षाबीच आईसीटी–१ मा उपस्थित गराइएको थियो।
बांग्लादेशको अखबार द डेली स्टार का अनुसार, ती १५ अधिकारीहरूलाई पहिले बांग्लादेश सेनाले नियन्त्रणमा लिएको थियो। त्यसपछि आज बिहान करिब सात बजे उनीहरूलाई कडा सुरक्षाबीच आईसीटी–१ मुख्यालयमा ल्याइयो। मुख्यालय वरपर सीमा पुलिस बल (बीजीबी), र्यापिड एक्शन ब्याटालियन (आरएबी) र पुलिसको कडा सरक्षा थियो। आदेश जारी भएपछि ती अधिकारीहरूलाई हरियो रङको एसी सुविधा भएको विशेष जेल भ्यानमा लगियो।
मुख्य अभियोजक ताजुल इस्लामले सुनुवाइपछि पत्रकारहरूसँग कुरा गर्दै भने, आजको कार्यवाहीपछि न्यायाधिकरणले सबै १५ जना अधिकारीहरूलाई जेल पठाउने आदेश दिएको छ। उनले भने, अन्तरिम सरकारले जेल प्रशासनसँग मिलेर यी अधिकारीहरूलाई कुन सुविधा वा ठाउँमा राख्ने भन्ने निर्णय गर्नेछ।
यी अधिकारीहरू हुन्, मेजर जनरल शेख मोहम्मद सरवर हुसेन, ब्रिगेडियर जनरल मोहम्मद जहांगिर आलम, तोफायेल मुस्तफा सरवर, मोहम्मद कमरुल हसन, मोहम्मद महबूब आलम, मोहम्मद महबूबुर रहमान सिद्दिकी, अहमद तनवीर मजहर सिद्दिकी, कर्नल अनवर लतीफ खान, एकेएम आजाद, अब्दुल्ला अल मोमेन, मोहम्मद सरवर बिन कासिम, लेफ्टिनेन्ट कर्नल मोहम्मद मोशिउर रहमान ज्वेल, सैफुल इस्लाम सुमन, मोहम्मद रेदोवानुल इस्लाम र मेजर रफत बिन आलम मून। न्यायाधिकरणले हत्या सम्बन्धी मुद्दाको अर्को सुनुवाइ मिति नोभेम्बर ५ र बेपत्ता प्रकरणको मिति नोभेम्बर २० तोकेको छ।
यसअघि अक्टोबर ८ मा आईसीटी–१ ले यी मुद्दाहरूमा ३२ जना आरोपीविरुद्ध पक्राउ आदेश जारी गरेको थियो। तीमध्ये २५ जना सेवामा रहेका वा अवकाशप्राप्त सैनिक अधिकारी हुन्। ती आरोपीहरूमा पदच्युत प्रधानमन्त्री शेख हसीना, पूर्व गृह मन्त्री असदुज्जमान खान कमाल र तीन पूर्व महानिर्देशकहरू पनि छन्। बेपत्ता प्रकरणमा हसीना र मेजर जनरल (अव.) तारिक अहमद सिद्दिकीलाई समेत आरोपी बनाइएको छ। सिद्दिकी, पदच्युत प्रधानमन्त्री हसीनाका पूर्व रक्षा तथा सुरक्षा सल्लाहकार हुन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी