‘भारत व्यापार र निवेशमा मलेसियाको महत्वपूर्ण साझेदार’ – इब्राहिम
Malaysia prime minister


प्रधानमन्त्री मोदीलाई फोन वार्तामा दिए दिवालीको शुभकामना

क्वालालम्पुर (मलेसिया), २३ अक्टोबर (हि.स.)। मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमले भारतलाई व्यापार र निवेशको क्षेत्रमा मलेसियाको एक महत्वपूर्ण साझेदार भएको बताएका छन्। उनका अनुसार, मलेसिया भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शान्तिपूर्ण र समृद्ध क्षेत्रको दिशामा सहकार्य विस्तार गर्न प्रतिबद्ध छ। मलेसियाको भारतसँग प्रविधि, शिक्षा र क्षेत्रीय सुरक्षा जस्ता क्षेत्रमा पनि नजिकको सहकार्य रहँदै आएको छ।

प्रधानमन्त्री इब्राहिमले यो कुरा सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका हुन्। उनले भने, “गत राति मेरो भारतीय समकक्ष प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद भयो। हामीले मलेसिया–भारत द्विपक्षीय सम्बन्धलाई अझ रणनीतिक र व्यापक स्तरमा सुदृढ पार्ने प्रयासबारे चर्चा गर्यौं। भारत व्यापार र निवेशको क्षेत्रमा मलेसियाको एक महत्वपूर्ण साझेदार बनेको छ, साथै प्रविधि, शिक्षा र क्षेत्रीय सुरक्षा क्षेत्रमा पनि गहिरो सहकार्य भइरहेको छ।”

इब्राहिमले थपे, “हामीले यस महिनाको अन्त्यमा क्वालालम्पुरमा हुने ४७औं आसियान शिखर सम्मेलनको तयारीबारे पनि चर्चा गर्यौं। प्रधानमन्त्री मोदीले भनेका थिए, सो समयमा भारतमा दिवाली पर्व चलिरहेकाले उनी अनलाइन माध्यमबाट शिखर सम्मेलनमा सहभागी हुनेछन्। म उनको निर्णयको सम्मान गर्छु र उनलाई तथा सम्पूर्ण भारतीय जनतालाई दिवालीको हार्दिक शुभकामना दिन चाहन्छु। मलेसिया, भारतसँगका सम्बन्धहरूलाई अझ बलियो बनाउने र शान्तिपूर्ण तथा समृद्ध क्षेत्र निर्माणको लक्ष्यका लागि आसियान–भारत सहकार्यलाई अझ सुदृढ गर्न प्रतिबद्ध रहनेछ।”

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande