कोलकाता चीनसँग प्रत्यक्ष हवाई सेवा भएको भारतको पहिलो शहर बन्यो
कोलकाता चीनसँग प्रत्यक्ष हवाई सेवा भएको भारतको पहिलो शहर बन्यो


कोलकाता, २२ अक्टोबर (हि.स.)। करिब पाँच वर्षको अन्तरालपछि, कोलकाता फेरि चीनको मुख्य भूभागसँग प्रत्यक्ष हवाई सम्पर्क हुने देशको पहिलो शहर बन्ने भएको छ। इण्डिगो एयरलाइन्सले घोषणा गरेको छ, २६ अक्टोबरदेखि कोलकाता र चीनको ग्वाङ्झोउबीच दैनिक नन–स्टप उडान सुरु गरिनेछ।

त्यसै दिन निजी विमान सेवा कम्पनीले कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तरराष्ट्रिय हवाईअड्डाबाट लन्डनका लागि स्टप सहितको उडान पनि पुनः सुरु गर्नेछ।

भारतीय विमानपत्तन प्राधिकरण (एएआई) ले आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा लेखेको छ, “देशको बृद्धि भइरहेको विमानन नेटवर्कका लागि अर्को महत्वपूर्ण उपलब्धि स्वरूप, इण्डिगो एयरलाइन्सले कोलकाता हवाईअड्डा र ग्वाङ्झोउ, चीनबीच प्रत्यक्ष हवाई कनेक्टिविटी पुनः सुरु गर्दैछ। यस नयाँ मार्गले अन्तरराष्ट्रिय हवाई यात्रामा नयाँ अध्यायको शुरुवात गर्नेछ र विकासका नयाँ अवसर खोल्नेछ।”

भारत र चीनबीच हवाई सम्पर्कको यो पुनर्स्थापना हालका कूटनीतिक प्रयासको परिणाम हो। प्रधानमन्त्री नरेन्द्र मोदीले शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनको क्रममा चीन भ्रमणको समयमा राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेका थिए, जहाँ दुवै नेताले विश्वव्यापी आर्थिक असुरक्षाका बीच आपसी व्यापार सुदृढ पार्ने रणनीतिहरूमा छलफल गरेका थिए। त्यसपछि दुवै देशबीच पुनः प्रत्यक्ष हवाई सेवाहरू सुरु गर्ने बाटो तयार भएको हो।

ग्वाङ्झोउ, जसलाई ऐतिहासिक रूपमा क्यान्टनको नामले चिनिन्छ, हङकङको उत्तर–पश्चिममा पर्ल नदीको किनारमा अवस्थित प्रमुख बन्दरगाह शहर हो। यो आफ्नो विशाल क्यान्टन फेयर र अन्तरराष्ट्रिय व्यापारिक बजारका लागि विश्व प्रसिद्ध छ।

कोलकाता र ग्वाङ्झोउबीचको प्रत्यक्ष हवाई सम्पर्कले केवल पश्चिम बंगालमा मात्र नभई पूरै पूर्वी र उत्तर–पूर्वी भारतको व्यापार र पर्यटनलाई नयाँ दिशा दिनेछ, किनभने कोलकाता देशका ११ राज्यका लागि प्रमुख प्रवेशद्वार हो।

इण्डिगो एयरलाइन्सले यस मार्गमा अत्याधुनिक एयरबस ए३२० नियो विमान चलाउनेछ। यो उडान कोलकाताबाट राति १० बजे प्रस्थान गरी स्थानीय समय अनुसार बिहान ४:०५ बजे ग्वाङ्झोउ पुग्नेछ। फर्कने उडान ग्वाङ्झोउबाट बिहान ५:३५ बजे प्रस्थान गरी बिहान ७:५० बजे कोलकाता पुग्नेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande