सीएपीद्वारा भाईटिकाको अवसरमा राज्यव्यापीरूपमा शान्तिपूर्ण प्रदर्शन आयोजित
सीएपीद्वारा भाईटिकाको अवसरमा राज्यव्यापीरूपमा शान्तिपूर्ण प्रदर्शन आयोजित


गान्तोक, 23 अक्टोबर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमले आज भाईटिकाको शुभ अवसरमा राज्यका सबै छ जिल्लाका विभिन्न पुलिस चौकी तथा कार्यालयहरूमा शान्तिपूर्ण प्रदर्शनहरू आयोजना गर्‍यो। यस अभियानको उद्देश्य सिक्किमका महिला नेतृहरूविरुद्ध सामाजिक सञ्जालमार्फत कथित बढ्दो अनलाइन दुर्व्यवहार, अपमान र धम्कीप्रति तत्काल ध्यानाकर्षण गराउनु रहेको सीएपीले बताएको छ।

सीएपीले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, पार्टीका कार्यकर्ताहरूले प्लेकार्ड र सन्देश बोकेर यस्ता गैरकानुनी कार्यहरूको कडा निन्दा गर्दै सिक्किम प्रहरीसँग द्रुत र ठोस कानुनी कारबाहीको माग गरे। प्रदर्शनका क्रममा पार्टी प्रतिनिधिहरूले प्रत्येक प्रहरी चौकीमा जनरल डायरी प्रविष्टि गर्न अनुरोध गरे तापनि, केही प्रहरी चौकीहरूले “क्षेत्राधिकार भित्र पर्दैन” भन्ने कारण देखाउँदै दर्ता गर्न अस्वीकार गरेको गम्भीर चिन्ता पार्टीले प्रकट गरेको छ। यस प्रकारको व्यवहारले महिलामाथि हुने अपराधप्रति राज्य संयन्त्रको उदासीनता प्रष्ट पार्दछ।

सीएपीले अनलाइन दुर्व्यवहार, धम्की र चरित्रहत्या झेलेका सर्व महिला नेतृहरू र नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै, शारीरिक वा डिजिटल—कुनै पनि प्रकारको हिंसा सभ्य लोकतन्त्रमा अस्वीकार्य भएको दृढ विश्वास व्यक्त गरेको छ। हरेक महिलाले सार्वजनिक जीवनमा मात्र होइन, भर्चुअल (अनलाइन) संसारमा पनि सम्मान, सुरक्षा र स्वतन्त्रता पाउनुपर्छ भन्ने पार्टीले आफ्नो अडान स्पष्ट गरेको छ।

सीएपीले अनलाइन दुर्व्यवहार र धम्कीमा संलग्न व्यक्तिहरूलाई तुरुन्त छानबिन गरी कानुनी कारबाही गरिनुपर्ने, साइबर अपराध अनुगमन एकाइलाई थप सबल र छिटो प्रतिक्रिया दिन सक्षम बनाउनुपर्ने, महिलाको गरिमा, स्वतन्त्रता र अभिव्यक्तिको अधिकारलाई सुनिश्चित गर्ने संवैधानिक तथा नैतिक दायित्व पालन गरिनुपर्ने माग गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande