
आग्रा, २५ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको आग्रा जिल्लामा शुक्रबार राति भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पुलिसले घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले आग्रामा भएको सडक दुर्घटनाको जानकारी लिएर मृतकका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूलाई उत्तम उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।
न्यू आग्रा थाना प्रमुख राजीव त्यागीले शनिबार जानकारी दिए अनुसार, आग्राको नगला बूढी–दयालबाग मार्गमा तीव्र गतिमा आएको कारले जतिन रिजर्ट अगाडि अनलाइन फुड डेलिभरी बाइक चालक भानु प्रतापलाई ठक्कर दिएको थियो। दुर्घटनापछि कार चालक भाग्ने क्रममा पुलिसले उनलाई रोक्ने प्रयास गर्दा चालकले कारको गति बढाएको थियो। त्यसै क्रममा बाटोमा हिँडिरहेका नगला बूढीका बबली (३८), कमल (२३), कृष्ण (२०) र बंतेश (५०) लाई हिर्काएर कार डिभाइडरमा ठोकिएर पल्टिएको थियो। घर बाहिर बसिरहेका केही व्यक्तिहरू पनि कारको चपेटामा परे। मानिसहरूले कारको तल दबिएका राहुल र वीरेंद्रसहित अन्यलाई बाहिर निकालेका थिए। स्थानीयहरूले कारको सिसा तोडेर चालकलाई बाहिर निकालेर पिट्न थाले। त्यसैबीच पुलिस पुगे र चालकलाई भीडबाट जोगाएर हिरासतमा लिए।
प्रारम्भिक चिकित्सक रिपोर्ट अनुसार बबली (४०), भानु प्रताप मिश्रा (२८), कमल (२३), कृष्ण (२०) र बंतेश (५०) लाई उपचारको क्रममा मृत घोषित गरिएको छ। अन्य दुई घाइतेको उपचार जारी छ। पुलिसले कार चालक अंशुल गुप्तालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी