बीजापुरमा नक्सलीहरूले दुई गाउँवासीको धारिलो हतियारले हत्या गरे
बीजापुरमा नक्सलीहरूले दुई गाउँवासीको धारिलो हतियारले हत्या गरे


बीजापुर, 25 अक्टोबर (हि.स.)। छत्तीसगढ राज्यअन्तर्गत बीजापुर जिल्लामा बिहिबार राति नक्सलीहरूले दुई गाउँवासीको धारिलो हतियारले निर्मम हत्या गरेका छन्। मृतकहरूको पहिचान २५ वर्षीय रवि कट्टम र ३८ वर्षीय तिरुपति सोढीको रूपमा गरिएको छ। जानकारी अनुसार, तिरुपतिको दाजु सीआरपीएफका जवान हुन्।

पुलिसका अनुसार, नक्सलीहरूले बदला लिने उद्देश्यले यो घटना घटाएका हुन्। घटनाको सूचना पाएपछि उसूर थाना पुलिस घटनास्थलमा पुगे तथा‌ अहिले पुलिस र सुरक्षा बलहरूले आसपासका क्षेत्रहरूमा खोज तथा सुरक्षा अभियान तीव्र पारेका छन्। यस घटनापछि पुरै क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ।

बीजापुरका एएसपी चन्द्रकान्त गवर्णाले शनिबार जानकारी दिँदै भने, “उसूर थाना क्षेत्रअन्तर्गत नेलाकांकेर गाउँमा शुक्रबार राति नक्सलीहरू दुवैको घरमा पसेर धारिलो हतियारले आक्रमण गरी हत्या गरे र फरार भए।” पुलिसले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ र गहन अनुसन्धान सुरु गरिएको जनाइएको छ।

जानकारीअनुसार, तिरुपति सोढी आठौँ कक्षा पास र पेशाले किसान थिए भने रवि कट्टम १२ कक्षा पास थिए। दुवैको बीजापुर र आवापल्ली आवागमन हुने भएकाले नक्सलीहरूले मुखबिरीको शंकामा हत्या गरेको अनुमान गरिएको छ। पछिल्ला एक महिनामा नक्सलीहरूले सात गाउँवासीको हत्या गरिसकेका छन्।

अक्टोबर महिनामै बस्तर संभागमा नक्सलीहरूले पाँच जना गाउँवासीको हत्या गरिसकेका छन्। अक्टोबर ४ मा सुकमा र बीजापुर जिल्लामा दुई जनाको हत्या भएको थियो। त्यसअघि सुकमामा दुई र बीजापुरमा एक गाउँवासी मारिएका थिए।

सेप्टेम्बर २८ मा पनि बीजापुरमा २७ वर्षीय सुरेश कोरसा (मनकेली पटेलपारा निवासी) लाई नक्सलीहरूले अपहरण गरी हत्या गरेका थिए। राज्य गठनपछि विगत २५ वर्षमा बस्तर संभागका विभिन्न जिल्लाहरूमा नक्सलीहरूले १८२० भन्दा बढी मानिसहरूको हत्या गरिसकेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande