
पटना, २५ अक्टोबर (हि.स.)।
बिहारमा अर्को महिना विधानसभाको चुनाउ हुँदैछ, जसका कारण राजनीतिक वातावरण निकै तातिएको छ। चुनावी सभा र जनसभाहरू निरन्तर भइरहेका छन्। यसै क्रममा भारतका गृहमन्त्री अमित शाहले शनिबार खगडिया जिल्लामा एक चुनावी सभालाई सम्बोधन गर्दै महागठबन्धनका दलहरू र राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवको कडा आलोचना गरे।
खगडिया जिल्लाको अलौली विधानसभा क्षेत्रमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) का उम्मेदवारहरूको पक्षमा आयोजित सभामा बोल्दै अमित शाहले भने, “महागठबन्धनका दुई विशेषता छन् — भ्रष्टाचार र परिवारवाद।” उनले थपे, “हाम्रो सरकारले बिहारलाई नक्सलवादबाट मुक्त बनाएको छ।”
जनसभामा उपस्थित भीडलाई सम्बोधन गर्दै शाहले प्रश्न गरे, “फेरि बिहारमा जंगलराज ल्याउन चाहनुहुन्छ कि विकास ल्याउन?” भीडको प्रतिक्रियापछि उनले भने, “केवल प्रधानमन्त्री नरेन्द्र मोदी र नितीश कुमारले मात्र बिहारको विकास गर्न सक्छन्। महागठबन्धन वा लाठबन्धन, जसको इतिहास नै भ्रष्टाचारले भरिएको छ, के उनीहरूले बिहार विकास गर्न सक्छन्? केवल मोदीजी र नितीश बाबु, जसहरूमा एक पैसाको पनि भ्रष्टाचारको आरोप छैन, उनीहरू मात्र बिहारलाई अगाडि बढाउन सक्छन्।”
शाहले भने, “प्रधानमन्त्री मोदी र नितीश कुमार बिहारको समग्र विकास चाहन्छन्, तर लालु यादव आफ्नै परिवारको समृद्धिका लागि मात्र काम गर्छन्। लालु यादवको शासनकालमा हत्या, डकैती, फिरौती, अपहरण र नरसंहार दैनिक घटनाहरू थिए। उनको शासनमा बिहारबाट उद्योगहरू पलायन भए र राज्यपछि पर्यो। तर नितीश कुमारको नेतृत्वमा राजग सरकारले जंगलराज अन्त्य गर्यो, परिवारवाद अन्त्य गर्यो र सबैभन्दा महत्त्वपूर्ण कुरा, बिहारलाई नक्सलवादमुक्त बनायो।”
गृहमन्त्री शाहले, “यो चुनाउ कसैलाई विधायक, मन्त्री वा मुख्यमन्त्री बनाउनेका लागि होइन। यो चुनाउले तय गर्नेछ कि बिहारमा फेरि जंगलराज फर्कनेछ कि विकासको शासन कायम रहनेछ। लालु–राबडीको सरकारमा जंगलराज मात्र हुनेछ, तर राजगको सरकारमा बिहारको विकास हुनेछ र भारतभर यसको पहिचान बलियो हुनेछ।”
शाहले व्यंग्य गर्दै भने, “लालु यादव चाहन्छन् कि उनका छोरा तेजस्वी यादव बिहारका आगामी मुख्यमन्त्री बनून्, र सोनिया गान्धी चाहन्छिन् कि राहुल गान्धी आगामी प्रधानमन्त्री बनून्।” मुख्यमन्त्री नितीश कुमारको प्रशंसा गर्दै शाहले भने, “जदयू नेता नितीश कुमारले बिहारमा विकासको नयाँ हावा चलाएका छन्।”
सभाको प्रारम्भमा शाहले छठ पर्वको शुभकामना दिंदै भने,
“म बिहारका सबै जनतालाई छठ पर्वको हार्दिक शुभकामना दिन्छु। म छठी मैयासँग प्रार्थना गर्छु कि हाम्रो बिहार सधैं जंगलराजबाट मुक्त रहोस्, कानून–व्यवस्था बलियो रहोस्, हाम्रा दिदीबहिनीहरू सुरक्षित रहून् र बिहार भविष्यमा एक विकसित राज्य बनोस्।”
हिन्दुस्थान समाचार / भवानी थामी