

उज्जैन, २४ अगस्त (हि.स.)। मध्य प्रदेशको उज्जैनस्थित विश्वप्रसिद्ध ज्योतिर्लिङ्ग भगवान महाकालेश्वर मन्दिरमा श्रावण महिनामा भक्तजनको ठूलो भीड लागेको छ। श्रावणको चौथो सोमबार बिहान भस्म आरतीका क्रममा बाबा महाकाललाई चाँदीको मुकुट, मुण्डमाला र रुद्राक्षको माला धारण गराएर राजसी स्वरूपमा दिव्य शृंगार गरिएको थियो। यस क्रममा हजारौँ भक्तजनले दिव्य दर्शनको लाभ लिएका छन्। साँझ बाबा महाकालको श्रावण महिनाको चौथो सवारी निकालिनेछ। यस क्रममा अवन्तिकानाथ नगर भ्रमणमा निस्केर आफ्ना भक्तजनको अवस्था बुझ्ने धार्मिक परम्परा छ। सवारीका क्रममा भगवानले चार स्वरूपमा भक्तजनलाई दर्शन दिनेछन्। बाबा महाकाल नन्दी रथमा श्री उमामहेश स्वरूप, पालकीमा श्री चन्द्रमौलेश्वर, गजराजमा श्री मनमहेश तथा गरुड रथमा श्री शिव ताण्डव स्वरूपमा विराजमान रहनेछन्।
आज सावनको चौथो तथा अन्तिम सोमबार हो। यस अवसरमा देशभरबाट ठूलो संख्यामा श्रद्धालु उज्जैन पुगेका छन्। भगवान महाकालेश्वरको दर्शनका लागि मन्दिरमा भक्तजनको लामो लाइन लागेको छ। भस्म आरतीका लागि मन्दिरका ढोका बिहान २ः३० बजी खोलिएका थिए। त्यसपछि शुरु भएको दर्शनको क्रम राति १० बजी हुने शयन आरतीसम्म जारी रहनेछ।
महाकालेश्वर मन्दिरका पुजारी महेश गुरुका अनुसार, श्रावणको अन्तिम सोमबार मन्दिरका ढोका बिहान २ः३० बजी खोलिएको थियो। परम्पराअनुसार, सबैभन्दा पहिले वीर बाल भद्रको पूजा गरियो। त्यसपछि भगवान महाकाल, भगवान गणेश, भगवान कार्तिकेय र नन्दीको विधिपूर्वक अभिषेक तथा पूजा सम्पन्न गरिएको थियो। त्यसपछि कर्पूर आरती गरियो। सोपछि भक्तजनलाई दर्शनका लागि प्रवेश दिइएको थियो।
वैदिक मन्त्र उच्चारणबीच जलले भगवान महाकालको अभिषेक गरेपछि दूध, दही, घिउ, चिनी, मह र फलफूलको रसबाट तयार पारिएको पञ्चामृतले पूजा गरिएको थियो। चाँदीको चन्द्रमा, त्रिशूल, मुकुट तथा आभूषणसहित भाङ, चन्दन र ड्राइफ्रुटले शृंगार गरेर भस्म चढाइएको थियो। फलफूल तथा मिठाईको भोग लगाइयो। ‘जय श्री महाकाल’ को जयघोषबीच भस्म आरती सम्पन्न भयो। त्यसपछि भगवानलाई चाँदीको मुकुट, आभूषण तथा दिव्य वस्त्र धारण गराइयो। निराकारबाट साकार स्वरूपमा भगवान महाकालले भक्तजनलाई दर्शन दिए। यस क्रममा हजारौँ श्रद्धालुले चलित भस्म आरतीमार्फत पनि बाबा महाकालको दर्शन गरेका थिए।
श्रावणको अन्तिम सोमबार चलित भस्म आरतीमा पनि ठूलो संख्यामा श्रद्धालु सहभागी भएका थिए। बाबा महाकालको भस्म आरतीको दर्शनका लागि भक्तजन रातिदेखि नै मन्दिरबाहिर लाइनमा बसेका थिए। घण्टौँ प्रतीक्षा गरेपछि चलित भस्म आरतीमार्फत बाबा महाकालको दर्शन गर्ने अवसर पाउँदा भक्तजनको अनुहारमा खुसी देखिएको थियो। श्रद्धालुहरूले भस्म आरतीमा बाबा महाकालको स्वरूप अत्यन्त दिव्य र अलौकिक देखिएको बताए। कतिपय भक्तजनले आफूले यसरी भस्म आरतीको दर्शन गर्ने अवसर पाउने कहिल्यै नसोचेको र यसलाई बाबा महाकालको कृपा भएको बताएका छन्।
परम्पराअनुसार, श्रावण-भादौ महिनामा निकालिने भगवान महाकालको सवारीको क्रमअन्तर्गत आज साँझ ४ बजी सावनको चौथो सवारी निकालिनेछ। सवारी शुरु हुनुअघि दिउँसो करिब ३ः३० बजी महाकालेश्वर मन्दिर परिसरको सभामण्डपमा बाबा महाकालको षोडशोपचार पूजा गरिनेछ। त्यसपछि भगवान श्री चन्द्रमौलेश्वर स्वरूपमा पालकीमा विराजमान भएर भक्तजनलाई दर्शन दिन नगर भ्रमणमा निस्कने छन्।
पालकीमा श्री चन्द्रमौलेश्वरसँगै हात्तीमा श्री मनमहेश, गरुड़ रथमा श्री शिव ताण्डव तथा नन्दी रथमा श्री उमा-महेश स्वरूप सवारीमा सहभागी हुनेछन्। चारै स्वरूपका दिव्य मुखारविन्दले भक्तजनलाई एकसाथ भक्तिरसमा डुबाउनेछन्।
साँझ ४ बजी बाबा महाकालको पालकी मन्दिरको मुख्य द्वारमा पुग्नेबित्तिकै सशस्त्र पुलिस बलका जवानहरूले राजाधिराजलाई गार्ड अफ अनर प्रदान गर्नेछन्। त्यसपछि शंखनाद, ढोल-नगाडा तथा भजनको गुञ्जनबीच सवारी नगर भ्रमणतर्फ अघि बढ्नेछ।
राजसी ठाँटबाँटका साथ सवारी महाकाल चोक, गुदरी चौराहा, बक्शी बजार र कहारवाडी हुँदै करिब डेढ़ किलोमिटर दूरी पार गरेर साँझ ५ बजी रामघाट पुग्नेछ। त्यहाँ शिप्रा नदीको जलले बाबा महाकालको जलाभिषेक गरिनेछ। रामघाटमा पूजा तथा आरतीपछि बाबा महाकाल मन्दिरतर्फ फर्कने छन् र सवारी साँझ ७ बजी मन्दिर पुग्नेछन्।
महाकाल मन्दिरका प्रशासक प्रथम कौशिकले बाबा महाकालको सवारीका क्रममा जनजातीय सांस्कृतिक टोलीले विभिन्न प्रस्तुति दिने जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी