
गुवाहाटी, २४ अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसँग आइतबार राति भेटवार्ता गरी राज्यमा बाढीपछि उत्पन्न परिस्थितिका साथै सञ्चालन भइरहेका राहत तथा पुनर्वास कार्यबारे जानकारी गराएका छन्।
मुख्यमन्त्री डा. सरमाले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेट गरी असममा बाढीको अवस्था तथा पुनर्वास प्रक्रियाको पछिल्लो स्थितिबारे विस्तृत जानकारी गराएको बताएका छन्। साथै, असमसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयमा पनि छलफल भएको उनले जनाएका छन्।
उनले असममा बाढीको अवधिभर गृहमन्त्री शाहले निरन्तर सम्पर्कमा रहेर परिस्थितिको निगरानी गरेको बताए। साथै, आगामी दिनमा राज्यका जनतालाई सामान्य जीवनमा फर्काउन भारत सरकारबाट पर्याप्त सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री शर्माले भने, शाहसँग भएका प्रत्येक भेटवार्ताजस्तै यसपटकको छलफलमा पनि उनले सानाभन्दा साना विषयमा समेत गम्भीरतापूर्वक ध्यान दिएका थिए। विशेषगरी सुरक्षित र स्थिर असम निर्माणप्रति उनको निरन्तर प्रतिबद्धताले आफूहरूलाई प्रेरित गरेको शर्माले बताएका छन्।
उनले गृहमन्त्री शाहको मूल्यवान् मार्गदर्शन तथा निरन्तर प्राप्त भइरहेको बलियो सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी