
मुम्बई, २४ अगस्त (हि.स.)। महाराष्ट्रको नागपुरस्थित गोधनी नगर पञ्चायतको फागुजी नगरमा रहेको पानी प्रशोधन केन्द्रमा गए राति रिजर्भ क्लोरिन सिलिन्डरबाट ग्यास लीक हुँदा करिब ४० जना प्रभावित भएका छन्। उनीहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ नागपुर अग्निशमन विभाग, राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), पुलिस तथा अन्य सुरक्षा निकायका टोली घटनास्थलमा पुगेका थिए। सावधानीका रूपमा घटनास्थल वरपर २०० मिटर क्षेत्रलाई सिल गरी मानिसहरूको आवतजावतमा रोक लगाइएको छ।
घटनास्थलमा उद्धार तथा राहत कार्यमा खटिएका एक पुलिस अधिकारीका अनुसार, प्लान्टमा क्लोरिन ग्यासका दुईवटा सिलिन्डर राखिएका थिए। तीमध्ये एउटा प्रयोगमा रहेको थियो भने अर्को रिजर्भमा राखिएको थियो। राति करिब १२ः३० बजी रिजर्भ सिलिन्डरबाट अचानक ग्यास लीक हुन थालेको थियो। केही समयमै छेउछाउका क्षेत्रमा क्लोरिन ग्यास फैलियो।
घटनाबारे जानकारी पाएपछि स्थानीय सामाजिक कार्यकर्ताले पुलिसलाई खबर गरेका थिए। पुलिस घटनास्थलमा पुगेर करिब २०० मिटर क्षेत्र खाली गराउनुका साथै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पुर्यायो।
ग्यासबाट प्रभावित ४० जनालाई गोधनी रोडस्थित म्याक्स अस्पताल, मेयो अस्पताल र स्पर्श अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये तीन जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।
ग्यास लीक नियन्त्रण गर्न एनडीआरएफको टोलीले घटनास्थलमा पुगेर लीक रोक्ने प्रयास गरिरहेको छ। साथै, स्वास्थ्य केन्द्रको टोली पनि प्रभावित क्षेत्रमा पुगेर घर-घरमा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरिरहेको छ।
ग्यास लीक हुँदा प्लान्टमा कुनै कर्मचारी उपस्थित नरहेको बताइएको छ। यसले प्लान्टको सुरक्षा व्यवस्था, रातको समयमा कर्मचारीको अनुपस्थिति तथा क्लोरिन सिलिन्डरको व्यवस्थापन र प्रयोगलाई लिएर गम्भीर प्रश्न उठाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी