
कोकराझार (असम), अक्टोबर २५ (हि.स.)। कोकराझार जिल्लामा केही दिनअघि रेल लाइनमा भएको आईईडी विस्फोटसँग सम्बन्धित एक माओवादी आज बिहान पुलिस भिडन्तमा मारिएको छ। पुलिस अधीक्षक पुष्पराज सिंहले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिए।
गत अक्टोबर २३ को बिहान कोकराझार रेल लाइनमा भएको आईईडी विस्फोटमा संलग्न उग्रवादीको खोजीका क्रममा नादाङगगुरी क्षेत्रमा पुलिसले छापा मारेको थियो। सोही क्रममा भएको भिडन्तमा पुलिसले एपिल मुर्मु उर्फ रोहित मुर्मु (४०) लाई गोली हानी मारेको बताइएको छ। भिडन्त स्थलबाट पेस्तोल, ग्रेनेड, मतदाता परिचयपत्र र झारखण्डको आधार कार्ड बरामद गरिएको छ। पुलिसले अझै पनि खोज तथा अपरेशन जारी राखेको छ।
पुलिस अधीक्षकका अनुसार, एपिल मुर्मु उर्फ रोहित मुर्मु पहिले झारखण्डमा बम विस्फोटको घटनामा संलग्न थियो। गत वर्ष अक्टोबरमा झारखण्डको रेल लाइनमा विस्फोट गरी उनी असम भागेका थिए। झारखण्डमा उनलाई रोहित मुर्मुको नामले चिनिन्थ्यो भने कोकराझार जिल्लाको कचुगांव, ग्राहमपुरका बासिन्दा एपिल मुर्मुको नामले पनि परिचित थिए। उनी झारखण्ड र असम दुबै ठाउँका बासिन्दा रहेका थिए।
पहिले उनी नासला नामक उग्रवादी समूहका सदस्य थिए। नासला समूहले आत्मसमर्पण गरेपछि उनी झारखण्ड भागेका थिए र त्यहाँ नासना नामको अर्को समूह गठन गरी कमाण्डर बनेर आपराधिक गतिविधि गर्न थालेका थिए। पछि उनले माओवादी संगठनसँग सम्बन्ध कायम गरे। रोहित मुर्मुको खोजीका लागि झारखण्डबाट एक पुलिस टोली असम आएको थियो। सन् २०१५ देखि उनी झारखण्डमा हिंसात्मक गतिविधिहरूमा संलग्न रहेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी