
इम्फाल, २५ अक्टोबर (हि.स.)। राज्यका तीन जिल्लामा एकैसाथ सञ्चालन गरिएको पुलिस अभियानका क्रममा चार जना उग्रवादीलाई पक्राउ गरिएको छ। उनीहरूबाट हतियार र परिचयपत्रलगायतका कागजात बरामद गरिएको मणिपुर पुलिसले जानकारी दिएको छ।
पुलिसका अनुसार, २४ अक्टोबरमा सबैभन्दा ठूलो पक्राउ चुराचाँदपुर जिल्लामा भयो, जहाँ १८ वर्षका हाओमिनथाङ हाओकिपलाई पक्राउ गरियो। उनी युनाइटेड कुकी नेशनल आर्मीका सक्रिय सदस्य हुन्। उनलाई ओल्ड गेलमौलस्थित उनको घरबाट पक्राउ गरिएको थियो। पुलिसले उनको साथबाट दुई जिउॅंदो गोलीसहितको पेस्तोल, मोबाइल फोन र आधार कार्ड बरामद गरेको छ।
अधिकारीहरूका अनुसार, हाओकिप चुराचाँदपुर शहरका व्यापारी र सर्वसाधारणबाट जबरजस्ती रकम असुल्ने र अन्य गैरकानूनी गतिविधिमा संलग्न थिए।
काकचिङ जिल्लामा पुलिसले २३ वर्षका सलाम सुशील सिंहलाई पक्राउ गरेको छ। उनी प्रतिबन्धित संगठन (ताइबंगनबा) का सक्रिय कार्यकर्ता हुन्। उनलाई काकचिङ वैरी बामन परेंग क्षेत्रमा रहेको घरबाट पक्राउ गरियो। पुलिसले उनको साथबाट मोबाइल फोन, आधार कार्ड र प्यान कार्ड बरामद गरेको छ।
तेस्रो पक्राउ इम्फाल वेस्ट जिल्लामा भएको हो। यहाँ ४२ वर्षका शमजेत्साबम संजीत सिंह, जसलाई इनाओबी वा नोंगशाबा नामले पनि चिनिन्छ, पक्राउ परेका छन्। उनी रिभोल्युसनरी पिपुल्स फ्रन्ट/पिपुल्स लिबरेशन आर्मीका सक्रिय सदस्य हुन्। उनलाई पटसोई पुलिस क्षेत्रको संगैथेल माखा लेइकाइबाट पक्राउ गरिएको हो।
चौथो पक्राउ इम्फाल ईस्ट जिल्लामा गरिएको हो। यहाँ पुलिसले प्रीपाक (प्रो) का सक्रिय सदस्य मोइराङथेम दीना माईतेई उर्फ न्गाक्पा (३२) लाई को ब्रह्मपुर नहाबाम क्षेत्रबाट पक्राउ गरेको छ।
यी सबै पक्राउहरू राज्यमा चलिरहेका उग्रवादी गतिविधि र अवैध चन्दा असुली नेटवर्कमाथि नियन्त्रण ल्याउने उद्देश्यले सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत भएका हुन्।
हिन्दुस्थान समाचार / भवानी थामी