सिङ्गापुरमा स्टाफ नर्सको रूपमा कार्यरत भारतीय नागरिकलाई यौन दुर्व्यवहारको आरोपमा एक वर्ष दुई महिनाको जेल सजाय
Singapore court


सिङ्गापुर, २५ अक्टोबर (हि.स.)। सिङ्गापुर स्टेट कोर्टले शुक्रबार नर्थ ब्रिज रोडस्थित प्रतिष्ठित र्‍याफल्स अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत एक भारतीय नागरिकलाई यौन दुर्व्यवहारको दोषी ठहर गर्दै सजाय सुनाएको छ। अदालतले ३४ वर्षीय भारतीय नागरिक एलीपे शिवा नागूलाई एक वर्ष दुई महिनाको जेल सजायसँगै दुई बेंतको सजाय पनि सुनाएको हो।

द स्ट्रेट्स टाइम्सको रिपोर्ट अनुसार, यो घटना २१ जुनमा दर्ता गरिएको थियो। अभियोजन पक्षका उप लोक अभियोजक यूजीन फुआका अनुसार, घटनाको दुई दिनपछि आरोपित नागूलाई पुलिसले पक्राउ गरेको थियो।

पीडित १८ जूनमा अस्पतालमा भर्ना भएका आफ्ना हजुरबुवालाई भेट्न गएको थियो। साँझ करिब ७:३० बजे उनी शौचालयमा गएका बेला एलीपेले भित्र झाँकेको अभियोग छ। फुआका अनुसार, एलीपेले स्यानिटाइज गर्ने बहानामा पीडितको हातमा साबुन लगाएर उसमाथि दुर्व्यवहार गरेको थियो।

घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले आरोपित नर्सलाई तुरुन्त निलम्बन गरेको अभियोजन पक्षले जनाएको छ। पीडित उक्त अनुचित व्यवहारपछि स्तब्ध बनेर शौचालयबाट निस्किएको र आफ्नो हजुरबुवासँग सम्पूर्ण घटना सुनाएको बताइएको छ। त्यसपछि अस्पताल प्रशासनले यो विषय पुलिसमा उजुरी गरेको हो।

अदालतले फैसला सुनाउँदै पीडितको उमेर र अन्य व्यक्तिगत विवरण सार्वजनिक नगर्ने आदेश दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande