थाइल्याण्डकी राजमाता सिरीकितको ९३ वर्षको उमेरमा निधन
Thailand-rajmata-expired


ब्याङ्कक (थाइल्याण्ड), अक्टोबर २५ (हि.स.)। थाइल्याण्डकी राजमाता सिरीकितको शुक्रबार राति ९ः२१ बजे निधन भएको छ। उनले ९३ वर्षको उमेरमा किङ्ग चुलालोङकर्न मेमोरियल अस्पतालमा अन्तिम सास फेरेकी हुन्। थाई रेडक्रस सोसाइटी र रोयल हाउसहोल्ड ब्यूरोले उनको निधनको घोषणा गरेका छन्।

ब्याङ्कक पोस्ट पत्रिकाको रिपोर्ट अनुसार, ब्यूरोको विज्ञप्तिमा भनिएको छ कि उनी सेप्टेम्बर २०१९ देखि अस्वस्थ थिइन्। अक्टोबर १७ मा उनको रक्त प्रवाहमा संक्रमण भएको थियो। चिकित्सकहरूको अथक प्रयासपछि पनि उनको स्वास्थ्य बिग्रँदै गयो।

राजा महा वजीरालोङ्कोर्न फ्रा वजीराक्लाओचाओयुहुआले ब्यूरोलाई शाही परम्परा अनुसार सर्वोच्च सम्मानका साथ राजमाताको शाही अन्त्येष्टि गर्न निर्देशन दिएका छन्। उनका अस्थिहरू ब्याङ्ककको ग्र्यान्ड प्यालेसस्थित दुसित महा प्रसाद सिंहासन हलमा राखिनेछ। राजाले उनको निधनको मितिदेखि शाही परिवार र दरबारका अधिकारीहरूका लागि एक वर्षको शोक अवधि घोषणा गरेका छन्।

जीवन परिचय:

राजमाता सिरीकितको जन्म सन् १९३२ अगस्त १२ मा ब्याङ्ककमा भएको थियो। उनका पिता राजकुमार नक्खत्रा मङ्गला र आमा एम.एल. बुआ कितियाकारा हुन्। सन् १९५० अप्रेल २८ मा उनको विवाह राजा भूमिबोल अदुल्यादेज महान (राम नवौँ) सँग भएको थियो। राजा भूमिबोलले सन् १९४६ देखि २०१६ सम्म शासन गरेका थिए। सन् १९५० मे ५ को राज्याभिषेकको दिन सिरीकितलाई महारानी घोषित गरिएको थियो।

राजमाता सिरीकित थाई जनताको कल्याण, ग्रामीण विकास, महिलाको सशक्तीकरण तथा परम्परागत थाई कला र हस्तकला संरक्षणप्रति अन्तिम क्षणसम्म समर्पित रहिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande