
गान्तोक, 25 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको जिल्ला समन्वय सभा आज सोम्बारे–रुम्बुकमा सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष गणेश राईले गरेको थियो।
सीएपी अध्यक्ष राईले आफ्नो सम्बोधनमा राज्यको पुनर्निर्माण र सुधारको जिम्मेवारी अब सिटिजन एक्सन पार्टी–सिक्किमले लिनुपर्ने समय आएको बताए। उनले भने, लोकतन्त्रको पाँच दशक लामो अभ्यासपछि पनि सिक्किमका नागरिकले अभिव्यक्तिको स्वतन्त्रता पूर्ण रूपमा पाउन नसक्नु अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। नागरिकको आवाज दबाउने प्रवृत्तिका विरुद्ध हामी सधैंँ दृढतापूर्वक उभिनेछौं।
उनले प्रजातन्त्रको स्वर्ण जयन्ती पछिको राजनीतिले अब साँच्चो प्रजातन्त्रको बलियो घडेरी निर्माण गर्दै विश्व स्तरीय प्रजातान्त्रिक वातावरणको सृजना गर्न शसक्त लडाई लड्नुपर्छ भन्ने कुरामा जोड दिए। उनले राज्यको कमजोर आर्थिक अवस्थाको प्रत्यक्ष जिम्मेवार वर्तमान सरकार रहेको आरोप लगाउॅंदै सिटिजन एक्सन पार्टी सत्तामा आएपछि प्रत्येक नागरिकको ‘कमाउने अधिकार’ सुनिश्चित गरिने बताए।
सीएपी अध्यक्ष राईले स्वास्थ्य, शिक्षा, सडक जस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धित आधारभूत आवश्यकताहरूलाई प्राथमिकता दिँदै राज्यको आर्थिक संरचना मजबुत बनाउने पार्टीको नीति प्रस्तुत गरे। उनले सस्टेनेबल डेभलपमेन्ट र लोकतान्त्रिक मूल्यहरूको संरक्षण सिटिजन एक्सन पार्टी–सिक्किमको मुख्य लक्ष्य रहेको स्पष्ट पारे। उनले भने, “हाम्रो संघर्ष कुनै व्यक्तिगत स्वार्थको लागि होइन, तर झूट र सामन्ती सोचका विरुद्धको वैचारिक आन्दोलन हो।”
कार्यक्रममा सोरेङ र रिन्चेनपुङ क्षेत्रका बीसभन्दा बढी नागरिक सीएपीमा सामेल भएको दाबी प्रेस विज्ञप्तिमा गरिएको छ। कार्यक्रमलाई पार्टीका अन्य नेतृत्वहरूले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल