
खरसाङ, 28 अक्टोबर (हि.स.)। तीनधारे क्षेत्रमा यस वर्ष छठ पूजा भक्तिभाव र शान्तिपूर्ण रुपमा पालन सम्पन्न भयो। तीनधारे क्षेत्रमा बसोबासो गर्ने बिहारी समुदायले विभिन्न धाराहरुमा छठ पर्व पालन गरे।
तीनधारेका होटेल गैरी, आशीलाल धारा, ऋषि धारा, काली धारा र तीनधारेदेखि केही तल चुनभट्टी नजिक ढ्वाङ खोलाको ठूलो धारा आदि ठाउॅंहरूमा छठ पूजाको आयोजना गरिएको थियो। मंगलवार बिहान 4 बजीदेखि तीनधारे क्षेत्रका धाराहरुमा चोखो र पवित्र मनका साथ सूर्योदय नभइञ्जेलसम्म पूजा गरेर सूर्यलाई चोखो पानी चढाएपछि छठ पूजा सम्पन्न गरिएको बताइएको छ।
तीनधारे क्षेत्रका बजार निवासी एक 65 वर्षीय वृद्ध जय प्रकाश गुप्ताले सानै उमेरदेखि छठ पूजा निरन्तर पालन गर्दै आएको बताए। उनले यसरी विश्वास गरेर नियमपूर्वक छठ पूजा मनाउँदै आएकाले आफू साथै आफ्नो परिवार सधैं सकुशल र आनन्दमय जीवन बिताइरहेको बताए।
तीनधारेको राजबारी निवासी नरेन बम्जनले यसपाली तीनधारे क्षेत्रमा छठ पूजा बिहारी समुदायको साथमा नेपाली हिन्दू धर्मावलम्बीहरुले पनि मिलेर मनाएको जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक