गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको काङ्लातुम्बी र इम्फालका गोर्खा समुदायसँग भेट-वार्ता
गोर्खा समूहसँग गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको भेट-वार्ता


खरसाङ, 28 अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड राज्य गठनको निम्ति समग्र भारतीय गोर्खाहरुमाझ वैचारिक एकता ल्याउने प्रयासमा लागि परेका गोर्खाल्याण्ड एक्टीभिष्ट समूहका तीन सदस्यीय टोलीले मंगलवार मणिपुर राज्यका काङ्लातुम्बी अनि इम्फालका सचेत गोर्खा सन्तानहरुसँग भेट गरेर गोर्खाल्याण्ड गठन विषयमा गहन विचार विमर्श गरेको छ। उत्तर पूर्वी राज्यहरुको भ्रमणमा रहेको उक्त टोलीले दोस्रो दिनको भ्रमणमा पनि काङ्लातुम्बी अनि आइजोलका गोर्खाहरुबाट सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ।

गोर्खाल्याण्ड भारतीय गोर्खाहरुको राजनीतिक सुरक्षाको निम्ति एकदमै आवश्यक रहेको मणिपुरका गोर्खाहरुले पनि महसुस गरेको बताउँदै गोर्खाल्याण्ड राज्य गठनको निम्ति समूहको वैचारिक सिद्धान्तका कुराहरु बुझ्ने प्रयास गरे। उनीहरूले वर्तमान भन्दा पनि भविष्य झनै सङ्कटमा देखिॅंदै गएकाले पुस्तौं पुस्तादेखि यहाँ बस्दै आएका धेरै जसो गोर्खाहरू राजनीतिक सुरक्षा खोज्दै सुरक्षित लाग्ने ठाउँहरुतीर पलायन भइरहेको बताए।

राजनीतिक सुरक्षाको निम्ति यो पलायनको क्रम अझै पनि चलिरहेकाले मणिपुरमा गोर्खाहरुको अस्तित्व अझै सङ्कटमा पर्ने डरले उनीहरूलाई सताई रहेको बताए। यस्तो अवस्थामा यदि अलग राज्य गोर्खाल्याण्ड गठन गर्न सके यस्तो सङ्कट, भय एवम् त्रासबाट मुक्त हुने र आफुहरु राजनीतिक रुपले सुरक्षित बन्ने मन्तव्य पोख्दै समूहको पहललाई स्वागत जनाएको बताइएको छ। काङ्लातुम्बीपछि ईम्फालमा बसेको कोठे भेटघाटमा पनि स्थानीय सचेत समूहसँग फलदायी अन्तरक्रिया भएको जानकारी प्राप्त भएको छ।

मणिबहादुर मिश्र, अर्जुन जोगी, शिव बस्नेत अनि अन्य धेरै सचेत गोर्खाहरुको उपस्थितिमा गोर्खाल्याण्ड गठनको उपायहरूमाथि निक्कै गहन अनि गम्भीर चर्चा गरिएको संयोजक किशोर प्रधानले जनाएका छन्। संयोजक प्रधानसँगै समूहका सह-संयोजक बिक्रम छेत्री अनि अभियन्ता जोकमान थापा अहिले भेट वार्ता गर्न उत्तर पूर्वी राज्यको भ्रमणमा रहेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande