ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी
ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी


गान्तोक, 09 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले ट्रेड लाइसेन्स बनाउॅंदा कथित विधायकको सिफारिस लिनुपर्ने नियमलाई असंवैधानिक ठहर गरेको छ। सीएपीले ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस लिनु पर्ने नियम नरहेको पनि स्पष्ट गरेको छ।

सीएपी सिक्किमको एक प्रतिनिधि टोलीले आज शहरी विकास विभागका सचिवसॅंग भेट गरेर ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिसको आवश्यकताबारेमा सोधपुछ गऱ्यो। पार्टी प्रवक्ता अर्ल्बट गुरुङले ट्रेड लाइसेन्स बनाउॅंदा बजार अधिकारीहरूले विधायकको सिफारिस मागिरहेको विषयमा जन गुनासो आउन थालेपछि आज विभागका सचिवसॅंग भेट गरेर यस विषयमा सोधपुछ गरेको बताए।

उनले देश संविधानले चल्छ र सरकारहरू पनि सोही संविधान अनुरुप चल्ने गर्दछ भने। तर, सिक्किममा ट्रेड लाइसेन्स बनाउन विधायकको सिफारिस मागिरहेकाले जनसाधारणले धेरै समस्या झेल्नु परिरहेको बताए। उनले विशेष रूपमा सत्तारुढ़ दलसॅंग मतभेट राख्ने मानिसहरूलाई लाइसेन्स लिकाल्न कठिनाइ भइरहेको बताए। यस कारण धेरैले आफ्नो व्यापार बन्द गरेर गाउॅं पस्नु पर्ने स्थिति उत्पन्न भएको उनले दाबी गरे।

प्रवक्ता गुरुङले आज शहरी विकास विभागका सचिवसॅंग भएको भेट अवधि यस विषयमा कुराकानी गर्दा सचिवले यस्तो कुनै नियम नरहेको स्पष्ट गरेको पनि दाबी गरे। सचिवले 2011 भन्दा अ​गाडि यस्तो नियम रहेको, तर 2012 मा उक्त नियमलाई संशोधन गरेर ग्रामीण क्षेत्रमा ग्राम पञ्चायत र शहर-बजारमा स्थानीय शहरी निकायबाट सिफारिस ल्याउनु पर्ने नियम बनाएको स्पष्ट गरेका छन् भनी उनले बताए।

विभागले ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस आवश्यक छैन भन्ने कुरा स्पष्ट गरिसकेपछि अब कसैले विधायकको सिफारिस मागेको खण्डमा सीएपीलाई सूचित गर्न उनले बताए। उनले सरकारका जति पनि असंवैधानिक कायहरू विरुद्ध सीएपीले आवाज उठाउने छ र आवश्यकता परेको खण्डमा कोर्टसम्म जान तयार छ भनी बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande