सोनादा, 09 अक्टोबर (हि.स.)। दार्जिलिङका जिल्ला शासक डा प्रीति गोयलले बिहिबार रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रमा गएको पैह्रो पीडित क्षेत्रहरुको निरीक्षण भ्रमण गरेकी छन्। उनीसितै जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान एवं क्षेत्रीय सभासद राजेस चौहान, दार्जिलिङका अतिरिक्त जिल्ला शासक, भूमि अनि भूमि सुधार विभागका बीएलआरओ, सुके पोखरी खण्ड विकास अधिकारी, पञ्चायत समिति सदस्य, पञ्चायत प्रधान लगायत स्थानीय प्रतिनिधिहरु उपस्थित रहेका थिए।
जिल्ला शासक डा प्रीति गोयलले चन्द्रमानधुरामा विभिन्न स्थानहरुको भ्रमण गरेर पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण गरिन् र पैह्रो प्रभावित परिवारहरुसित भेटघाट गरिन्। यसावधि जिल्ला शासक डा प्रीति गोयल र जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहानको अगुवाईमा चन्द्रमानधुरा क्षेत्रमा पैह्रो पीडित परिवारहरुलाई चन्द्रमानधुरा प्राथमिक पाठशालामा राखिएको रिलिफ क्याम्पको पनि निरीक्षण भ्रमण गरेका थिए।
यसावधि उनीहरुले पैह्रो पीडितहरुलाई भेटेर विभिन्न समस्याहरु बुझ्ने साथै गुनासोहरु सुनेका थिए। यसका साथै जिल्ला शासक डा प्रीति गोयल र जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले सोनादा पचेङ समष्टिको मुण्डाकोठी ग्राम पञ्चायत अन्तर्गत फुलबारी होप टाउन क्षेत्रमा पैह्रोले मृत्यु भएको परिवारसित पनि भेटघाट गरे।
यसका साथै फूलबारी होप टाउन क्षेत्रमा पैह्रोग्रस्त क्षेत्रहरुको पनि निरीक्षण भ्रमण गरेर पैह्रोग्रस्त क्षेत्रहरुको जायजा लिएका छन्।
हिन्दुस्थान समाचार / हनोक