सोनादा, 09 अक्टोबर (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टले आज सोनादा पचेङ समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायत अन्तर्गत फूलबारी होप टाउन क्षेत्रमा पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण भ्रमण गरेका छन्। उनले सर्वप्रथम रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरामा विभिन्न पैह्रोग्रस्त क्षेत्रहरुको निरीक्षण गरेपछि मुण्डाकोठी ग्राम पञ्चायतको फूलबारी होप टाउन क्षेत्रको भ्रमण गरे।
उनले फूलबारी होप टाउनको सार्वजनिक भवनमा स्थापित रिलिफ क्याम्पमा पैह्रो पीडितहरुसित भेटघाट गरे। फूलबारीको होप टाउन क्षेत्रमा गत 4 अक्टोबरको राति आएको भारी वर्षाले पैह्रो गएर एकजना महिलाको मृत्यु भएको थियो। सांसदले पैह्रोमा ज्यान गुमाएका महिलाको परिवारसॅंग पनि भेट गरे। उनले फूलबारी होप टाउनको पैह्रोले सर्वाधिक प्रभावित तीन परिवारहरूको पुनर्वासको लागि रिङटङ चियाबारीका मालिकसित फोनमा कुराकानी गरेर जमीन उपलब्ध गराउने विषयमा कुरा गरे।
उनले रिङटङ चियाबारीका मालिकसॅंग पछि व्यक्तिगत रुपमा भेटेर बातचीत गरी पैह्रो प्रभावितहरुको पुनर्वासको लागि प्रबन्ध गर्ने विषयमा बातचीत गरेका थिए। सोनादा पचेङ समष्टिको फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोले तीनवटा घरहरु पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ भने गाउँका सबै 72 घर पैह्रोले प्रभावित बनेको बताइएको छ। क्षेत्रमा कतिवटा घरहरु जोखिमपूर्ण अवस्थामा रहेको र कतिवटा घरहरु धेरै प्रभावित बनेका छन्।
यसै समष्टिको तामसिङधुरा भएर फूलबारी होप टाउन हुँदै मुण्डाकोठी जाने रोडको विभिन्न स्थानहरुमा पैह्रोले यातायात वाधित बनेको छ। ठाउँ ठाउँमा पैह्रोले धेरै क्षति गरेको छ भने कतिवटा घरहरु र रोडलाई निक्कै क्षति गरेको छ। पैह्रोले क्षतिग्रस्त ती सबै क्षेत्रहरुको सांसद राजु विष्टले निरीक्षण भ्रमण गरेका छन्। उनले सबै पैह्रो पीडित परिवारहरुलाई भेट गरेर सहयोगको आश्वासन दिएका छन्।
यसावधि उनले पैह्रो प्रभावित परिवारहरुको गुनासोहरु र समस्याहरु सुनेका थिए। उनले राज्य र केन्द्र सरकार मिलेर कार्य गर्ने बताउँदै यो प्राकृतिक आपदाको समय सबैजना मिलेर काम गर्नुपर्ने बताए। उनले यो आपदाको समय पहिला सबै ठाउँमा घुमेर निरीक्षण गर्ने र त्यसपछि काम गर्ने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक